
बैंकहरूमा तरलता थुप्रिन थालेपछि केन्द्रीय बैैंकले रिभर्स रिपोमार्फत बजारबाट पैसा तान्ने (तरलता प्रसोचन) गर्ने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० मा दोस्रोपटक रिभर्स रिपो जारी गर्ने भएको हो ।
राष्ट्र बैंकले बजारमा लगानीयोग्य रकम थुप्रिएकाले १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै छ । राष्ट्र बैंकले एक साताको लागि जारी गर्ने यस्तो रिपोमार्फत वाणिज्य बैैंकमार्फत पैसा केन्द्रीय बैैंकमा तान्ने छ ।
राष्ट्र बैंकले बैंकहरूमा तरलता थुप्रदा रिभर्स रिपो जारी गर्ने र अभाव हुँदा रिपोमार्फत बैंकहरूमार्फत बजारमा पठाउने नियमित कार्य गर्दै आएको छ ।
रिभर्स रिपोमार्फत बैैंकहरूबाट पछिल्लो समय गत माघ महिनामा ५ अर्ब रुपैयाँ संकलन गरेको थियो । लामो समय बैंकहरूमा तरलता अभाव भएकाले पठाउने मात्रै काम गरेको राष्ट्र बैंकले अहिले भने बैंकहरूबाट उठाउन लागेको हो ।
गत वैशाखसम्ममा राष्ट्र बैंकले रिपोमार्फत बैंकहरूमा पठाएको रकम ४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले यस अघि गत वर्ष २०७८/७९ को साउनमा २८ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने बैंकहरूमा लगानीयोग्य रकम धेरै हुँदा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत वाणिज्य बैंकहरूबाट १ खर्ब ९ अर्ब रुपैयाँ उठाएको थियो ।