
सिम्रिक एयरलाई काभ्रेमा हेलिपोर्ट सञ्चालनको अनुमति दिनु भन्ने पर्यटन मन्त्रालयको निर्देशनलाई अटेर गरेको भन्दै पर्यटन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ईं. प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।
मन्त्रीको निर्णयको विरोध गरेको र कार्यान्वयन नगरेको बहानामा पर्यटन मन्त्री किरातीले सोमवार प्राधिकरणका महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
पर्यटन मन्त्रालयले निजी क्षेत्रको सिम्रिक एयरलाई हेलिकप्टर उडान तथा अवतरण गर्ने गरी बनाइने विमानस्थल (हेलिपोर्ट)को अनुमति दिन पर्यटन मन्त्री स्तरीय निर्णय गरेर २८ वैशाखमा प्राधिकरणलाई निर्देशन दिएको थियो ।
मन्त्री सुदन किरातीको निर्णय कानूनविपरीत भएको, निजी क्षेत्रलाई विमानस्थल बनाउन दिने कानूनी व्यवस्था नभएको, प्राधिकरणको जिम्मेवारी बाहिर गएको र आवश्यकता र अध्ययनविना विमानस्थलको अनुमति दिन नसकिने भन्दै प्राधिकरणले मन्त्रीको निर्णयको विरोध गर्दै आएको थियो ।
मन्त्री किरातीले ७ दिनभित्र जवाफ दिनु भन्दै सोधिएको प्रश्न अव्यवहारिक देखिएका छन् ।
मन्त्रीले उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको सहितको आरोप लगाएर प्रश्न सोधेका छन् ।
सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीतिविरुद्ध काम गरेको र अभिव्यक्तिहरू दिइएको आरोप स्पष्टीकरणमा छ ।
पर्यटनमन्त्री किरातीले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटको घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रूपमा छुट्याउने नीतिविपरीत सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको आरोप पनि लगाएका छन् ।
मन्त्रालयले सोधेको स्पष्टीकरणमा २ वटा यात्रुबहाक विमान र ३ वटा हेलिकप्टरहरू दुर्घटना हुनुमा प्राधिरकरणकै महानिर्देशको दोष रहेकोले भन्दै अव्यवहारिक विषय समेत राखिएको छ ।
मन्त्रालयले उनलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको पनि उल्लेख छ ।
फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको आरोप पनि स्पष्टीकरणमा छ ।
परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा विमानस्थलमा उडान गराएको, पोखरा विमानस्थल उद्घाटनको दिन भीएफआरको समय सकिएपछि पनि लापरवाहीपूर्वक उड्डयन सुरक्षा नियम प्रतिकूल हुनेगरी ५ वटा विमान कम्पनीका उडानहरू गराएको विषयमा मन्त्रालयले अधिकारीलाई जवाफ पेश गर्न निर्देशनसमेत दिएको छ ।
पोखरा विमानस्थल सञ्चालनमा ल्याउन छिनडाँडा काट्दा आर्थिक हानी नोक्सानी पुर्याएको लगायतका विषयमा पनि स्पष्टीकरण सोधिएको छ ।
सिम्रिकलाई हेलिपोर्टको अनुमति र स्पष्टीकरण दुवै दिन्नः महानिर्देशक अधिकारी
महानिर्देशक अधिकारीले भने मन्त्रीले सिम्रिकलाई कानूनविपरीत हेलिपोर्ट सञ्चालन अनुमति दिनु भनेको दाबी गरे । उनले सोही अनुमति नदिँदा मन्त्रीले अव्यवहारिक र हवाई सुरक्षाका गोप्य विषयलाई सामाजिक सञ्जलामार्फत् छताछुल्ल पारेको पनि बताए ।
मन्त्रीले सोधेको स्पष्टीकरण दिनु उचित नभएकोलेले सोही व्यहोराको पत्र लेखेर स्पष्टीकरण नदिने पनि महानिर्देशक अधिकारीले बताए । उनले आज भोलिमा प्राधिकरणले सिम्रिकलाई हेलिपोर्ट सञ्चालनको अनुमति दिन नसक्ने निर्णय गर्ने पनि बताए ।