०२ साउन २०८३, शनिबार

‘परस्त्री’ फिल्मले आफ्नो करियर परिवर्तन गर्ने शिल्पाको अपेक्षा

असार १३, २०८०
काठमाडौं
‘परस्त्री’ फिल्मले आफ्नो करियर परिवर्तन गर्ने शिल्पाको अपेक्षा

अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ फिल्मले आफ्नो करियर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरेकी छिन् । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अवसर पाएको खण्डमा आफू बलिउड फिल्ममा समेत काम गर्न तयार रहेको बताइन् । 

सुरज पाण्डेको निर्देशनमा तयार फिल्म ‘परस्त्री’ आगामी शुक्रवारबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । 

फिल्मको हिन्दी भर्सन भारतमा मात्रै र नेपाली भर्सन नेपालमा प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ । 

यो फिल्म शिल्पाले दिएको बोल्ड सिनका कारण पनि यतिबेला चर्चामा छ ।

निर्माण टिम नेपालको प्रचारप्रसार सकेर केही दिन भारतका विभिन्न सहरमा पुगेर फिल्मको प्रचारप्रसार गरेको थियो । सोही क्रममा दिल्लीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै शिल्पाले फिल्मलाई लिएर आफूमा ठूलो अपेक्षा रहेको बताएकी हुन् । 

निर्देशक पाण्डेले फिल्म हेर्न नेपालमा मात्रै नभइ भारतमा पनि दर्शक उत्साहित रहेको प्रतिक्रिया मिलेको बताए । उनले ‘परस्त्री’को कथा युनिभर्सल भएको दाबी समेत गरेका छन् । 

यस्तो कथामा अहिलेसम्म नेपालमा फिल्म नै निर्माण नभएको भन्दै फिल्मको प्रिजेन्टेसन भने नेपाली दर्शकको स्वाद अनुसार निर्माण गरेकाले केही फरक लाग्न सक्ने निर्देशक पाण्डेले बताए । 

अभिनेता गौरव विष्टले ‘परस्त्री’ जस्तो फिल्ममा काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताए । उनले भारतीय दर्शकलाई नेपाली फिल्मलाई पनि बलिउड फिल्म जत्तिकै माया गरिदिन आग्रह गरे । यस्तै निर्माता शर्मिला पाण्डेले ‘परस्त्री’लाई भारतीय दर्शकले मन पराएको खण्डमा अर्को फिल्म पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन् । 

दीपेन्द्र के. खनालको लेखन रहेको फिल्म विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको हो । 

फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्