१६ असार २०८३, मंगलबार
संसद्मा प्रधानमन्त्री

सोसल मिडियाप्रति प्रधानमन्त्रीको गुनासो– हिजो दूधकै नदी बग्थ्योजस्तो भाष्य खडा गर्न खोजियो !

असार १३, २०८०
काठमाडौं
सोसल मिडियाप्रति प्रधानमन्त्रीको गुनासो– हिजो दूधकै नदी बग्थ्योजस्तो भाष्य खडा गर्न खोजियो !

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामाजिक सञ्जालले राष्ट्रिय प्राथमिकतालाई विषयान्तर गरिरहेको गुनासो गरेका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले विषय विज्ञताभन्दा निन्दाबाजी हावी भइरहेको गुनासो गरेका हुन् ।

'सामाजिक सञ्‍जालका चित्रहरूले राष्‍ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुन्छ। हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषयविज्ञताभन्दा निन्दाबाजी त हावी भइरहेको छैन?  जनताका वास्तविक मुद्दाहरू हराउँदै गएर सतही एवं सस्ता विषयले त महत्त्व पाइरहेका छैनन् ? कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्‍जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौं ? कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन ?' प्रधानमन्त्री प्रचण्डले भने ।

उनले भावनात्मक आधारले मात्र सत्य र लोकतन्त्र सुदृढ नहुने भन्दै त्यसका लागि तथ्यपरकता आवश्यक पर्ने बताए । मतदाताका रूपमा तयार भएको नयाँ पुस्ताले विगतका कठिन दिन नै देख्नुनपरेको उनको भनाइ छ ।

'मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसले युद्ध देख्‍नुपरेन । बिहान एक गाग्री पानीका लागि ३ घन्टा खोला धाउनुपरेन। विद्यालय पुग्न ३/४ घण्टा पैदल हिँड्नु परेन। यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर चलाइएको शाही शासन देखेन। सञ्‍चारगृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्‍ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन। हिजो देशमा दूधकै नदी बहन्थ्योझैं भाष्य खडा गरेर यो पुस्तालाई लोकतन्त्रबाट दिग्भ्रमित पार्ने अधिकार हामी कसैलाई पनि छैन,' प्रधानमन्त्रीले थपे, 'बीस वर्षअघि र आज जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ। सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो। सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिंगो संसद् एक ठाउँमा उभिनेछ भन्‍ने मेरो विश्‍वास छ। 

उनले सार्वजनिक बहसको स्तर समेत खस्किएको गुनासो गरे ।

'संसद्सँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो। भारत र तेस्रो विश्‍वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रू भएको छ। तर हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्‍ने विवादमा संसदको लामो समय लियौं। यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर होस् भन्‍ने मेरो आग्रह छ,' प्रधानमन्त्री प्रचण्डले भने ।

salt training

कमेन्ट गर्नुहोस्