काठमाडौँ, २६ भदौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा असार २५ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारीविरुद्ध उजुरी पर्यो । पदाधिकारीले पद दुरुपयोग गर्दै व्यापक आर्थिक अनियमितता गरेको प्रमाणसहित सरोकारवालाले उजुरी दिँदासमेत अख्तियारले कागजात नियन्त्रणमा लिएन । उल्टै गोप्य उजुरीबारे अख्तियारका कर्मचारीले सूचना ‘लिक’ गराए । स्रोतका अनुसार उजुरी परेपछि बिल–भौचरलगायत लेखासँग सम्बन्धित कागजात विश्वविद्यालय प्रशासनले ‘रातारात मिलाउने’ मौका पायो, कान्तिपुर दैनिकमा खबर छ ।

असार २४ गते अख्तियारमै अर्को उजुरी पर्यो, न्यूनतम योग्यता पनि नपुगेकालाई इन्जिनियरिङ संकायमा सहायक डिन नियुक्त गरिएको विषयमा । इन्जिनियरिङ संकायका विद्यार्थीले दिएको उजुरीमा पदीय हैसियत दुरुपयोग गरी डिन नियुक्त गरेको भन्दै उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, रजिस्ट्रार महेन्द्रकुमार मल्ललाई कारबाही माग गरिएको थियो । उक्त उजुरीउपर पनि अख्तियार अनुसन्धान अघि बढाउन सकेको छैन ।
गैरकानुनी रूपमा शिक्षक, कर्मचारी नियुक्त गरिएको उजुरीमा समेत अख्तियारले अनुसन्धान गरेन । शिक्षक/कर्मचारीसम्बन्धी असार २६ र भदौ ९ गते दर्ता भएका दुवै उजुरीउपर कुनै चासो नदिएको उजुरीकर्ताको गुनासो छ ।