३२ असार २०८३, बिहीबार

सिन्धुलीका दुई पालिकाले गरे सासू–बुहारी अन्तरक्रियाका लागि बजेट विनियोजन

असार १३, २०८०
काठमाडौं
सिन्धुलीका दुई पालिकाले गरे सासू–बुहारी अन्तरक्रियाका लागि बजेट विनियोजन

सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो । 

समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए । उजले भने, “सासू र बुहारीलाई एकै ठाउँमा राखेर एकअर्काको भावना र कर्तव्य बुझाउन समन्वयकारी भूमिका निर्वाह गरेमा सामाजिक र पारिवारिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने कार्यक्रमको उद्देश्य छ ।” 

‘सासू कहिले आमा हुन सक्दैनन् र बुहारी छोरी हुन सक्दैनन्’ भन्ने भनाइलाई गलत साबित गर्न यस कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैंभरि मिलेर बस्न नसक्ने सम्बन्धका रुपमा लिने गरिएकाले यसलाई चिर्न आवश्यक रहेको उनले बताए।

यस्तै, फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू–बुहारी सम्मान कार्यक्रम राखेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत छ वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिए।

यस कार्यक्रमको उद्देश्य गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने रहेको उनको धारणा छ । 

गाउँपालिकाभित्र रहेका उदाहरणीय सासू र बुहारीलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी आवहरुमा पनि निरन्तरता दिइने उनले बताए।

सासूले बुहारीलाई छोरी र बुहारीले सासूलाई आमाको व्यवहार गर्नुपर्नेमा गाउँपालिकाको जोड छ । यसले घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्