
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरूको प्रत्यक्ष भूमिका रहने प्रतिबद्धता गरेपछि बजेट सहजै पारित भएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिबद्धताका कारण बजेट सहजै पारित भएको बताए ।
उनले सरकारले समस्याको बोध गहिराइबाटै भएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा आमूल परिवर्तन हुने विश्वास व्यक्त गरे । उनले आगामी वर्ष बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना, कार्यक्रम बजेट निर्माणमा सांसदहरूको प्रत्यक्ष भूमिका रहने प्रधानमन्त्रीको संकल्पका कारण बजेट पारित भएको बताए ।
उनले भने, ‘यो पटक नयाँपन के देखियो भने नेपाल सरकारलाई समस्याको बोध गहिराइमा गएर गराउन सफल भइएको छ । आगामी वर्षबाट बजेट निर्माण प्रक्रियामा आमूल परिवर्तन गर्ने । बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना र कार्यक्रम, बजेट निर्माणमा प्रत्यक्ष संघीय सांसदहरूको भूमिका रहने गरी नै सरकारको तर्फबाट प्रधानमन्त्रीले संकल्प गर्नुभयो । प्रतिबद्धता जाहेर गर्नुभयो । त्यसपछि बजेट सहज ढंगले बहुमतले पास हुने परिस्थिति पैदा भयो ।’
उनले सरकारको धरातल कमजोर नभएको भन्दै सरकार पाँचै वर्ष चल्ने बताए । सांसद दाहालले बजेटमा भएका प्राविधिक कमजोरीहरूलाई सच्याइएको पनि बताए ।
उनले भने, ‘यो सरकार त्यति कमजोर धरातलमा बनेको छैन । सरकार ५ वर्षसम्म चल्छ । हाम्रो सत्ता साझेदार दलभित्र साझा सहमति छ । यो प्राकृतिक गठबन्धन छ । संघीयता, लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरू, संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने साझा प्रतिबद्धतासहित बनेको सरकार भएको कारणले गर्दा सरकार ढल्ने, बन्नेसँग सम्बन्धित होइन । बजेटमा देखिएका कयौं प्राविधिक कमजोरीहरू, बजेट थोरै बरालिएको विषयमा जो बहस, छलफल भएको थियो । त्यसलाई सच्याउने प्रतिबद्धता प्रधानमन्त्रीज्यूले गरिसकेपछि बजेट सहज ढंगले पास हुने स्थिति बन्यो । सकार ढल्छ कि भन्ने कल्पना गर्नु आवश्यक पनि छैन ।’
उनले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । सरकारले देशमा देखिएका बेथिति र अराजकतालाई हटाउने गरी काम गरिरहेकाले सरकार ढल्ने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।