
‘प्रेमगीत ३’बाट फिल्ममा डेब्यू गर्दै गर्दा क्रिष्टिना गुरुङले लोभलाग्दो चर्चा कमाइन् । अडिसनमा सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले पहिलो फिल्ममै स्टार अभिनेता प्रदीप खड्कासँग स्क्रिन शेयर गर्ने अवसर पाएकी थिइन् ।
फिल्ममा छनोट भएदेखि रिलिजसम्मै क्रिष्टिनाले राम्रो चर्चा पाइन् । उनको चर्चा नेपालमा मात्र भएन, भारत लगायतका देशमा रहेका नेपालीमाझ समेत उनी चर्चित बनिन् । किनकि उक्त फिल्म नेपाल, भारतसँगै विश्वका धेरै देशमा एकसाथ प्रदर्शनमा आएको थियो ।

उक्त फिल्म रिलिज भएपछि क्रिष्टिनालाई अन्य फिल्ममा पनि देख्न पाउने अपेक्षा थियो । ‘प्रेम गीत ३’ फिल्म हिट त भयो तर फिल्म रिलिजपछि क्रिष्टिनाको चर्चा भने पहिलेजस्तो हुन सकेन ।
‘प्रेम गीत ३’ रिलिज भएको झण्डै ९ महिना बितिसकेको छ । यो अवधिमा उनी कुनै फिल्ममा देखिएकी छैनन् । उनी कुनै फिल्ममा आबद्ध भएको जानकारी पनि बाहिर आएको छैन । सो कारण उनी गुमनाम भएको चर्चा फिल्म वृत्तमा छ ।
उनलाई फिल्मको अफर नै नपुगेको हो वा अफर पुगेर पनि उनले अभिनय नगरेकी हुन् ? त्यो उनी स्वयंमले जान्ने कुरा हो ।
यद्यपि, उनी निकटस्थहरु भने क्रिष्टिनालाई नयाँ फिल्महरूबाट अफर पुगिरहेको तर चित्त नबुझेका कारण अहिलेसम्म कुनै फिल्म साइन नगरेको बताउँछन् ।
