
काठमाडौं, २६ भदौ — उत्तरी आन्ध्र सन्धि संस्था (नाटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले उत्तर कोरियाको आणविक कार्यक्रम ‘विश्वव्यापी खतरा भएको र यसमाथि विश्वले नै कारवाही गर्नुपर्ने’ बताएका छन् ।

नाटो पनि कारवाहीको अंग हुने उनले बताए ।
तर उनले अमेरिकाको नियन्त्रणमा रहेको गुआममा आक्रमण हुँदा नाटोको संयुक्त सुरक्षा सहमति कार्यान्वयनमा आउने नआउने सम्बन्धमा केही बताएनन् ।
नाटो सन्धिको धारा ५ मा एउटा सदस्यमाथिको आक्रमणलाई सबै सदस्यमाथिको आक्रमण मानिने भनी लेखिएको छ ।
गुआम प्रशान्त महासागरमा रहेको एक टापु हो जसमाथि अमेरिकाको नियन्त्रण छ । प्योङयाङले गुआममाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।
‘म यस्तो स्थितिमा धारा ५ लागू हुन्छ कि हुँदैन भन्ने विषयमा अनुमान गर्न चाहँदिनँ,’ स्टोल्टेनबर्गले भने । ‘म के मात्र भन्छु भने हामीहरू द्वन्द्वको शान्तिपूर्ण समाधानमा केन्द्रित छौं र उत्तर कोरियालाई आणविक क्षेप्यास्त्र कार्यक्रम बन्द गर्न लगाउनका लागि दबाब दिँदैछौं ।’
उनले उत्तर कोरियालाई आणविक हतियार विकास रोक्न आह्वान गरे र यो विकास संयुक्त राष्ट्रसंघको सुरक्षा प्रस्तावको ठाडो उल्लंघन तथा अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामाथिको जोखिमका रूपमा रहेको बताए ।
बीबीसीबाट