१० असार २०८३, बुधबार
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध

एमालेले भन्यो– स्वाभिमानविपरीत अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बसिराख्न मिल्दैन

असार २०, २०८०
काठमाडौं
एमालेले भन्यो– स्वाभिमानविपरीत अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बसिराख्न मिल्दैन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली धाएको’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसदमा स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्रीबाट चित्त बुझ्दो जवाफ नआए बैठक अवरुद्ध गर्ने एमालेले बताएको छ । संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति देशको स्वाभिमानविरोधी भन्दै संसदमा जवाफ माग्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति देशको स्वाभिमान, सार्वभौमसत्ता र संसद्को गरिमाविपरीत छ । संसद्ले बनाएको होइन, दिल्लीले बनाएको भन्नेजस्तो गरी उहाँले बोल्नुभएको छ,’ बैठकपछि एमाले सचेतक महेश बर्तौलाले भने, ‘यो विषयलाई एमालेले गम्भीरताका साथ लिएको छ । प्रधानमन्त्रीले संसदमाथि गरेको अपमान र स्वाभिमानमाथिको आक्रमणबारे संसदमा जोडदार रूपमा लैजाने निर्णय गरेका छौं ।’ 

एमाले सचेतक बर्तौलाले प्रधानमन्त्रीले पदमा बस्ने नैतिक हैसियत गुमाइसकेको टिप्पणी गरे ।

‘यो प्रधानमन्त्रीको निजी विषय होइन, असामान्य विषयलाई संसदमा त्यही ढंगले उठाउने छौं । सामान्य विषय नभएको कारणले बैठक अवरुद्ध हुन सक्छ । नैतिक हिसाबले प्रधानमन्त्रीको हैसियतमा बस्ने नैतिकता गुमाउनुभएको छ,’ उनले भने । 

प्रतिनिधि सभाको बैठक बुधवार दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकअघि एमाले संसदीय दलको बैठक बसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्