
काठमाडौं, २६ भदौ — धेरैजसो मानिस हाइटका विषयमा चिन्ता लिइबस्छन् । अझै अग्लो हुन पाए हुन्थ्यो भनेर उनीहरू कल्पिन्छन् । तर एक अनुसन्धान अनुसार अग्ला मानिसहरूको शरीरमा रगत जम्ने सम्भावना होचाहरूको तुलनामा अधिक हुन्छ ।

रगत जम्ने वा ब्लड क्लटिङका कारण हृदयघात, पक्षाघात र मस्तिष्काघातको सम्भावना बढ्छ ।
स्विडेनको लुन्ड विश्वविद्यालयका सहप्राध्यापक बेंगट जोलरले हजारौं मानिसमाथि अनुसन्धान गरेर पृथ्वीको गुरुत्वाकर्षणका कारण यस्तो सम्भावना बढ्ने पत्ता लगाएको बताए ।
गुरुत्वाकर्षणका कारण अग्ला मानिसहरूको शरीरमा रक्तप्रवाह माथिसम्म पुग्न गाह्रो हुन्छ । उचाइँका कारण उनीहरूको रगत शिरामा अधिक जम्मा हुन्छ र जम्नलाई प्रशस्त ठाउँ पाउँछ ।
यसलाई भिनस थ्रोम्बोसिस भनिन्छ । उनका अनुसार व्यक्तिको उचाइँ बढ्दै जाँदा रगत जम्ने सम्भावना पनि वृद्धि हुँदै जान्छ ।
अनुसन्धानले पाँच फीट तीन इन्चसम्मका पुरुष र महिलामा रगत जम्ने सम्भावना त्यसभन्दा अग्ला मानिसभन्दा ६५ प्रतिशत कम हुने देखाएको छ । यो अनुसन्धान सन् १९५१ देखि हालसालैसम्म १६ लाख मानिसहरूमाथि गरिएको थियो ।
अनुसन्धानअनुसार अग्ला मानिसको नसाहरूको लम्बाइ अधिक भएका कारण गुरुत्वाकर्षणको प्रभाववश एक उचाइँमा पुगेर रक्तप्रवाह रोकिन्छ रगत जम्ने सम्भावना बढ्छ ।
एजेन्सी