
काठमाडौं–तराई द्रुर्त मार्ग ( फास्ट ट्रयाक) मा २ वटा भीरको डिजाइन परिवर्तन हुने भएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार फास्ट ट्रयाकको २८ किलो मिटरमा पर्ने सन्द्राम भीर र १२ किलोमिटरमा पर्ने रामचन्द्र भीरमा डिजाइन रिभ्यूका लागि मन्त्रिपरिषदमा पठाएको छ ।
‘त्यहाँ समस्या देखिएपछि कन्सल्ट्यान्टको सल्लाहमा २ वटा भीरको रेखाङ्कन अनुकूलन गर्न क्याबिनेटमा पठाएका छौं,’ सैनिक प्रवक्ता भण्डारीले लोकान्तरसँग भने, ‘क्याविनेटबाट स्वीकृत भएर आएपछि त्यसको पनि काम शुरु हुन्छ ।’
उनका अनुसार ती भीरमा कमसल माटोका कारणले टिकाउपनमा देखिने समस्या र भौगोलिक जटिलताका कारणले डिजाइन परिवर्तन गर्न लागिएका हो ।
सेनाका अनुसार असार ४ र ५ गते सडकखण्डको ८ र ९ नम्बरको क र ख दुवै आयोजनालाई काम गर्नका लागि ठेक्काको प्रक्रिया अगाडि बढेकाे छ । ‘अहिले हामीले प्रोजेक्ट ८ र ९ का लागि ठेक्का खोलेका छौं,’ प्रवक्ता भण्डारीले भने, ‘यसको काम सकिएपछि काम शुरु हुन्छ ।’
ठेक्काका लागि ८ (क)मा १३ वटा कम्पनीले आवेदन दिएका छन् । भने ९ (क) र (ख) आयोजनका लागि ६/६ वटा कम्पनीले आवेदन दिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार अहिले आयोजनामा स्थानीय १ हजार २८३ जना कामदारले काम गरिरहेका छन् । यस्तै, १ सय २३ वटा परामर्शदाता, करारका ८९ जना कर्मचारी र नेपाली सेनाका ५६५ जनाले काम गरिरहेका छन् ।
जेठ मसान्तसम्म भौतिक तर्फ २३.४५ प्रतिशत र वित्तीयतर्फत २५.६४ प्रतिशत काम भएको सेनाले जनाएको छ । सेनाले आर्थिक वर्ष २०७८/७९ मा ४३ अर्ब २९ करोड खर्च गरेको थियो । आर्थिक वर्ष २०७९/८० का लागि ३० अर्ब ७ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।