०५ असार २०८३, शुक्रबार

गोरु पाल्ने किसानलाई एक हल बराबर ५ हजार प्रोत्साहन भत्ता !

असार २१, २०८०
पाल्पा
गोरु पाल्ने किसानलाई एक हल बराबर ५ हजार प्रोत्साहन भत्ता !
प्रतिकात्मक तस्वीर

गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ । 

पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर ५ हजार रुपैयाँ भत्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

उनका अनुसार नयाँ किन्नेलाई ५ हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिक रूपमा २ हजार ५०० रुपैयाँ भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भत्ताको कार्यक्रम ल्याइएको हो । 
       
‘घरमा गोरु पालियो भने खेतबारी बाँझिदैन, अहिले त घरमा भएका गोरु हटाउन थालियो, खेतबारी बाँझै राख्ने, बजारबाट अनाज किनेर खाने आदत बसेको छ, घरको उत्पादनले जीविका चलाउन प्रोत्साहन दिन यस कार्यक्रम ल्याइएको छ,’ वडाध्यक्ष पोखरेलले भने ।
      
कृषिलाई बढवा दिन यो नीति लिएको वडाध्यक्ष पोखरेल बताउँछन् । गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ । घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ । गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो । 
       
अहिले गाउँघरमा एक हल गोरुले खेतबारी जोतेमा दैनिक २ हजार ५०० रुपैयाँसम्म ज्याला रहेको छ । घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाँझिने भएनन्, अर्कोतर्फ खेतबारी जोतेर राम्रै कमाउन सकिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्