कोशी प्रदेश सरकारको विषयलाई लिएर अहिले बिहान केन्द्रीय सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
बिहान साढे ९ बजे केन्द्रीय गठबन्धनको बैठक बस्ने नेकपा एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले बताए । बैठकमा राप्रपाले समर्थन नगर्ने भएपछि थप छलफल गर्न केन्द्रीय गठबन्धनको बैठक बोलाइएको छ ।
नयाँ सरकार बनाउनका लागि हालसम्म भएका उपलब्धि र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए । केन्द्रदेखि प्रदेश सरकारका विषयमा छलफल हुने उनको भनाइ छ ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिको विषयमा समेत बैठकमा छलफल हुने बुझिएको छ ।
राप्रपाले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताइसकेको छ । प्रदेशको स्थिरताका लागि एमाले–कांग्रेस मिलेर सरकार बनाउन् भन्ने पार्टीको धारणा रहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
प्रदेशको गठबन्धनको बैठक पनि सोही समयमा काठमाडौंमा बस्दैछ । काठमाडौंमा दलका नेताहरूको बैठक बस्न लागेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । उनले साँझ ५ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न जाने समेत बताए ।
गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत जोडेर बहुमत पुर्याउने भएको छ । सभामुखको नाम जोडेर गए संसद् चल्न नदिने एमालेका सांसदहरूले चेतावनी दिएका छन् ।