
कोशी प्रदेशमा नेकपा एमालेले सभामुखको हस्ताक्षर लिएर आए मुख्यमन्त्री नियुक्त नगर्न माग राख्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको छ ।
२०७९ माघ २८ गते सभामुख बाबुराम गौतमले प्रदेशसभाको बैठकमा दल त्याग गरेको घोषणा गरिसकेकाले कुनै दलमा आबद्ध नरहेको भन्दै एमालेले सभामुखलाई देखाएर नयाँ सरकारका लागि दाबी पेश भए मुख्यमन्त्री नियुक्त नगर्न समेत प्रदेश प्रमुखलाई आग्रह गरेको छ ।
एमालेका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिकमतकुमार कार्की सहितको टोलीले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर मुख्यमन्त्री नियुक्त नगर्न माग आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
साढे ४ बजे नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्दै छन् । बहुमत पुर्याउनका लागि सभामुखसहितको नाम लिएर जाने तयारी गठबन्धनको छ ।
कोशी प्रदेशका सभामुख बाबुराम गौतम कुनै दलको सदस्य नरहेकाले उनको नाम लिएर सरकार गठन गर्न जानु भनेको संविधान, कानून, संसदीय दलको मूल्यमान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासविपरीत हुने भएकाले प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरिएको मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता हिकमत कार्कीले बताए ।
‘प्रदेश सरकार गठन बहुमत पुर्याइएको भनेर संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि पेश गर्न आएमा मुख्यमन्त्री नियुक्ति नगर्नका लागि अनुरोध गर्दछौं’ प्रदेश प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
‘सभामुखको आसनबाट हालसम्म दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजकै मितिदेखि अलग भएको यस गरिमामय सदनमा घोषणा गर्दछु भनेर सभामुखले घोषणा गरिसक्नु भएकाले उहाँ माओवादी केन्द्र संसदीय दलमा हुनुहुन्न,’ कार्कीले भने, ‘बहुमत पुर्याउनका लागि सभामुखको गणना गर्नु हुँदैन ।’