
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० र ११ जोड्ने इन्द्रावती नदीमा झण्डै दुई वर्षपछि बेलीब्रिजको उद्घाटन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधानसेनापति प्रभुराम शर्माले आज यहाँ विशेष समारोहबीच उक्त बेलीब्रिजको संयुक्तरूपमा उदघाटन गरे ।
मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहमा मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानीयवासीले धेरै सास्ती बेहोर्नुपरेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीब्रिज छोटो समयमै निर्माण भएकामा खुशी व्यक्त गरे ।
प्रधानसेनापति शर्माले नेपाली सेनाले सधैँ नेपाली जनताको सुखदुःखमा साथ दिँदै आइरहेको भन्दै मेलम्ची बेलिब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताए ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्यमन्त्री बस्नेतको अथक प्रयास र दृढ सङ्कल्पका कारण मेलम्ची बेलिब्रिज समयमै सम्पन्न भएको बताए ।
विसं २०७८ को साउनमा बाढीका कारण मेलम्ची बजारदेखि इन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने ‘कम्पोजिट बृज’ बगाएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको थियो ।
इन्द्रावती गाउँपालिका–२ का वडाअध्यक्ष श्यामबहादुर गिरीले नवनिर्मित बेलिब्रिजले स्थानीयवासीलाई राहत मिलेको बताए ।