बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ ।
बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ । यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । दिनमा सयौँ गाडी आवतजावत गर्ने राजमार्ग बेला–बेलामा अवरुद्ध हुने गर्नाले समस्या हुने गरेको यात्रुहरूले बताएका छन् ।
यो राजमार्गको घुम्ती कटिङ गरेर स्तरोन्नतिको काम सञ्चालन भएकाले झनै समस्या भएको छ । घुम्ती कटिङ गरेका स्थानमा पानी परेपछि पहिरो गएका छन् । प्रहरी निरीक्षक जोशीले भने, “घुम्ती कटिङ र स्तरोन्नतिको काम भएकाले बेला–बेला राजमार्ग अवरुद्ध हुने गरेको छ, हामीले बन्द भएको जानकारी पाउनसाथ खुलाउने प्रयास गर्छौं । जेसिबी पनि राजमार्गमै तयारी अवस्थामा राखेका छौँ ।”
बेला–बेलामा पहिराले राजमार्ग अवरुद्ध हुँदा सास्ती हुने गरेको सिगास गाउँपालिका–९ जालहाल्लाका लक्ष्मी चन्दको भनाइ छ ।
पहिराले घन्टौँसम्म सडक अवरुद्ध हुँदा आकस्मिकरूपमा यात्रा गरिरहेका यात्रुलाई बढी समस्या हुने गरेको छ ।
लगातारको वर्षाका कारण राजमार्गअन्तर्गत ज्यापुमा सडक माथिबाट ठूलो ढुङ्गा खसेपछि असार १७ गते राति बन्द भएको सडक १८ गते बिहानदेखि सञ्चालन भएको थियो । यसअघि असार १७ गते पनि सोही राजमार्गको सुर्नगा गाउँपालिका–८ ढोल्यामोड र सुर्नया गाउँपालिका–६ मोतीनगरमा पहिरो खसेर अवरुद्ध भएको थियो । असार १६ गते पनि सो राजमार्गअन्तर्गत बैतडीको सुर्नया–८ आलुगैरामा, असार १४ गते पाटन नगरपालिका–८ ज्यापुमा, असार १० गते सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो ।
वर्षाको समयमा यात्रा गर्न समेत डर लाग्ने गरेको बझाङ बित्थडचिर–१ का राम बोहराले बताए । बेला–बेलामा खस्ने पहिराको दीर्घकालीन समाधानका उपाय खोज्न यात्रुको माग छ ।
सडक अवरुद्ध भएमा तुरुन्तै सञ्चालनका लागि डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको र दीर्घकालीन समाधान घुम्ती सुधार गरी स्तरोन्नतिको काम सम्पन्न भएपछि मात्रै हुने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ ।