
काठमाडौं, २८ भदौ — क्यामराअघि दाँत देखाउने र आँखा चम्काउने बाँदरको सेल्फी एकताका खुबै हिट भएको थियो ।

उक्त सेल्फीका विषयमा चलिरहेको कानूनी विवाद टुंगिएको छ ।
फोटोग्राफरले एक पशु अधिकार समूहसँग दुई वर्षसम्म चलेको कानूनी लडाईं जितेका छन् ।
यो तस्वीर सन् २०११ मा इन्डोनेसियाको जंगलमा म्याकाक प्रजातिको नारुतो नामक बाँदरले लिएको थियो ।
बाँदरले अस्ट्रेलियाको मोनमाउथशायरका डेभिड स्लेटरको क्यामरा लिएर फोटो खिचेको थियो ।
पशुअधिकारवादी समूह पेटाले तस्वीरमा जनावरको पनि हक लाग्ने तर्क दिएको थियो । तर मुद्दामा अमेरिकी न्यायाधीशले बाँदरलाई कपीराइटको अधिकार दिन नमिल्ने बताए ।
बाँदरका तर्फबाट पेटाले दायर गरेको मुद्दालाई अदालतले रद्द गरिदिएको थियो तर स्लेटर भविष्यमा यो तस्वीरबाट हुने कमाइको २५ प्रतिशत दान दिन तयार भए ।
स्लेटर र पेटाले जारी गरेको संयुक्त बयानमा बताइएअनुसार तस्वीरको बिक्रीबाट हुने कमाइको एक चौथाइ भाग नारुतो र उसलाई स्याहार गर्ने परोपकारी संस्थालाई दिइनेछ ।
बीबीसीबाट