राष्ट्र ऋण उठाउने विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई मूलरूपमै सुझावविना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
विधेयकमाथिको दफाबार छलफलमा सांसदहरूले सार्वजनिक ऋण बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए ।
सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पूँजी सिर्जना गरिनुपर्ने सुझाव उनीहरूले दिएका थिए । उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो ।
राष्ट्रियसभाको अर्को बैठक २०८० साल साउन १ गते सोमवार दिउँसो १ बजे बस्नेछ ।