
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवालाई भेट्न लू शुक्रवार अपरान्ह धुम्बराहीस्थित उनकै निवास पुगेका थिए ।
लूसँगको भेटवार्ता फलदायी भएको देउवाले बताएका छन् । ‘नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । नेपालको विकास, शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकारको अटल सहयोगका लागि कृतज्ञता व्यक्त गर्दछु’ भेटपछि देउवाले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।
देउवा प्रधानमन्त्री रहेको समयमा लू नेपाल भ्रमणमा आएका थिए । लूले नेपाल भ्रमण गरेको केही समयपछि प्रतिनिधि सभाबाट अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको थियो ।
सहायक विदेशमन्त्री लूले आजै परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।