नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएको बताउँदै उनले आदिवासी जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए ।
नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो । ‘यो देश सबैको हो, आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश हो । विशेष गरी नेपालको राजनीतिमा सबैको भूमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ । त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ’ उनले भने, ‘एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो । हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रुपले जनता नै आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ । सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा ।’
सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको पनि बताए ।