
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिवार व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान शुरू गरिएको छ ।
विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नगरपालिका–८ स्थित बडाल गाउँसम्म पुग्ने करीब डेढ किलोमिटर दूरी तथा ५ हजार ५०० फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो ।
व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडानको शनिवार पूर्व मन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिवार शुभारम्भ गरे । उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जन समेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले संघीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताए ।
‘देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा शुरू गरिएको प्याराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमा समेत वृद्धि हुनेछ,’ उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि प्रालिलाई औपचारिक (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) उडानको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान शुरू गरिएको जनाउँदै आवश्यकता र मौसमका आधारमा प्याराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार पोखरामा सञ्चालन भएका प्याराग्लाइडिङ कम्पनीहरूको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान शुरू गर्न लागिएको हो ।
धुलिखेलमा एकैपटकमा ६ वटा उडान भर्न सकिने छ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानबापत तिरिएको ७ हजारमा ३७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको उनले बताए । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ ।
धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कले घुम्न र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।