१० असार २०८३, बुधबार

हिउँदे सिँचाइका लागि पानी संकलन

साउन २, २०८०
गोरखा
हिउँदे सिँचाइका लागि पानी संकलन
प्रतिकात्मक तस्वीर

गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी संकलन गर्न पोखरी निर्माण गरिएको छ ।

सुक्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिए । करीब ५०० रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उनले बताए ।

बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँदको सुक्खायाम महादेवटार फाँटमा हिउँदे तरकारी बालीमा सिँचाइको सुविधा पुर्‍याइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महादेवटार लिफ्ट सिँचाइ योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारमार्फत पोखरी निर्माणका लागि बजेट प्राप्त भएको उनले बताए ।

‘महादेवटार ठूलो टार हो, सिँचाइ अभावका कारण हिउँदयाममा जमिन त्यत्तिकै बाँझो राख्नुपर्ने बाध्यता यहाँका किसानको छ, तरकारी खेतीका लागि मात्र भने पनि मोटर लगाएर नदीबाट पानी तानेर सिँचाइ गर्ने गरी पोखरी निर्माण गरिएको हो,’ वडाध्यक्ष श्रेष्ठले भने ।

पोखरी निर्माण सम्पन्न भएपछि महादेवटारका करीब २०० घरपरिवारले करेसाबारीमा हिउँदे सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीय रामकुमार दरैले जानकारी दिए । ‘नदीमा मोटर जडान गरी फलामको पाइपमार्फत पोखरीसम्म पानी तान्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यो योजनाबाट यहाँका स्थानीयले तरकारी खेती गरी पर्याप्त लाभ लिनसक्ने सक्नेछन् ।’

पोखरीमा जम्मा हुने पानीबाट महादेवटार क्षेत्रका करीब ५०० रोपनीभन्दा बढी जमिनमा हिउँदका बेलामा तरकारी खेतीमा सिँचाइ गर्न सकिने उनको भनाइ छ । ‘लिफ्टमार्फत बूढीगण्डकीको पानी तानेर पोखरीमा पानी जम्मा गरी हिउँदमा तरकारी बालीमा सिँचाइ गर्ने योजनाअनुसार पोखरी निर्माण गरिएको हो,’ उनले भने, ‘योजना सम्पन्न भए पनि कम्तीमा यहाँका स्थानीयवासीले आफ्ना लागि आफैंले तरकारी खेती गर्न पाउने भएपछि बाहिरबाट तरकारी आयात गर्नुपर्ने हाम्रो बाध्यता पनि हट्छ ।’

योजना सम्पन्न भए पनि आगामी हिँउददेखि महादेवटारका किसानले हिउँदे तरकारी बालीका लागि सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी दरैले बताए । योजना सम्पन्न गर्न स्थानीयले उपभोक्ता समितिमार्फत पोखरी निर्माण गरिरहेको उनले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्