
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विविध कारणले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन गठबन्धन भत्किए पनि १६ दिनमा फर्काएको बताएका छन् । मंगलवारबाट शुरू भएको केन्द्रीय समिति बैठकमा खड्काले विविध कारणले देउवा नेतृत्वको गठबन्धन भत्किने अवस्था आए पनि १६ दिनको प्रयत्नमा पुनः ट्रयाकमा ल्याउन सफल भएको बताएका हुन् ।
‘संविधान जारी गरेको उत्साह र पर्वमा पनि कांग्रेस विविध कारणले सडकमा पुग्नुपरेको थियो । १० पुसमा पनि हाम्रो सभापतिको नेतृत्वमा भएको गठबन्धन विभाजित भयो । कांग्रेस १० पुसपछि केन्द्र र प्रदेशबाट बाहिर रह्यो । तर जे जे कारणले बिग्रिएको भए पनि सम्हाल्न नेतृत्वमा रहने सबैले प्रयत्न गर्यौं । यसैले १६ दिनमा हामीले फेरि फर्किन सफल भयौं’ खड्काले भने, ‘प्रतिपक्षी बेञ्चमा भएको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु सहज थिएन । पार्टीमा छलफलको विषय पनि बन्यो । ५१ सालमा मनमोहन अधिकारीलाई विश्वासको मत दिनु संसदीय राजनीतिमा नसुहाउने घटना थियो । तर पनि हामी फेरि पुस २६ मा प्रचण्ड नेृतत्वको सरकारलाई विश्वासका मत दिने निर्णयमा पुग्यौं ।’
विश्वासको मत दिएपछि प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा कांग्रेसतिर फर्काएको पनि उनले बताए । ‘विश्वासको मत दिएपछि राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारको पक्षमा फर्किन प्रचण्जीले एउटा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो’ खड्काले भने, ‘छलफल गर्दा माओवादी र एमालेको गठबन्धन परिवर्तन गर्नुपर्छ भन्नेमा पुग्यौं ।’
फेरिएको गठबन्धन फेरि आफ्नो ट्रयाकमा ल्याएको भन्दै केन्द्र र प्रदेशका सरकारमा कांग्रेसको दरिलो उपस्थिति भएको पनि उनले प्रष्ट्याए ।
‘सबैको प्रयत्नमा हामीले हाम्रो नेतालाई राष्टपतिमा निर्वाचित गर्यौ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कोशीको सरकारमा नेतृत्व गरिरहेका छौं । केन्द्रंमा सरकारमा छौं । सातवटैमा हामी प्रमुख हैसियतमा उपस्थिति छौं’ उनले भने ।