
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अपारदर्शी, विधिविहीन, मनोमानी र एकलौटी चल्दै आएको आरोप लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिलाई तरंगित गर्ने गरी केन्द्रीय समितिको बैठक लाइभ गराएका छन् ।
लगातार दोस्रो कार्यकाल पनि सभापति भएका देउवाको लय परम्परागत भएपछि उनले इतर पक्षबाट निरन्तर अनेक आरोप खेप्दै आएका छन् ।
यसअघि पनि कहिलेकाहीँ हुने पार्टीका बैठकमा एउटा कुरा हुने तर बाहिर आएर नेताले अर्कै बोलिदिने गर्दा परिस्थिति बिग्रिएको भन्दै देउवा आजित भएको निकटस्थसँग बताउँथे ।
‘भित्र एउटा कुरा हुन्छ । सामान्य नोकझोक भए पनि परिस्थिति सम्हाल्नै नसक्ने गरी कुरा भएको हुँदैन तर बाहिर नेताले अर्कै बोलिदिन्छन् । यसले समस्या ल्याइरहेको छ । कहिलेकाहीँ त जिस्किएर सभापतिले बैठकको लाइभ नै गर्दिनुपर्छ कि भन्नुहुन्थ्यो,’ कांग्रेसका एक नेता भन्छन्, ‘तर अहिले सभापतिले आफ्नै प्रस्तावमा केन्द्रीय कार्यसमितिको बैठकमा बैठकका एजेण्डा प्रस्तुत गर्ने सहितका पहिलो बैठकलाई लाइभ नै गराइदिनुभयो । यसले सकारात्मक सन्देश दिएको छ ।’
ती नेताका अनुसार देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफू अनुकूलका सूचना बाहिर चुहाएर भ्रमजाल सिर्जना गर्ने गरेकोबाट आजित भएको बताइन्छ । यसैले पनि उनलाई बैठकको लाइभ गरिदिने ‘आइडिया’ फुरेको बताइन्छ ।
००००
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई–दुई अब महिनामा बस्ने भएको छ । पार्टी मुख्यालय सानेपामा मंगलबारदेखि सुरु केन्दीय समितिको बैठकमा महामन्त्री गगन थापाले दुई दुई महिनाको फरकमा पहिलो साता गर्ने प्रस्ताव गरेका हुन् ।
यसैगरी कांग्रेसले तीन चरणको पार्टी अभियान सञ्चालन गर्ने भएको छ । अभियानबाट ७ लाखसम्म सदस्य बनाउने कांग्रेसको लक्ष्य छ ।
००००
कांग्रेसमा गत निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध अन्तर्घात गरिएको भन्दै २१ सय उजुरी परेका छन् । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको जानकारी केन्द्रीय समितिको बैठकमा गराएका हुन् ।
२१ सय उजुरी परे पनि सबैको छानबिन नसकिएको उनले बताए । विधान अनुसार केहीलाई छानबिन गरी कारवाहीको प्रक्रिया अघि बढाएको पनि उनले बताए ।
००००
नेपाली कांग्रेस रूपान्तरण अभियानले प्रतिवेदन बुझाएको छ ।
सातै प्रदेशमा पुगेर अन्तरक्रिया गरी प्राप्त सुझाव समेटेर कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेललाई मंगलवार प्रतिवेदन बुझाइएको हो ।
२१ बुँदे सुझावसहितको प्रतिवेदनमा पार्टीको सैद्धान्तिक र वैचारिक मौलिकता रक्षा गर्नुपर्ने, समयसापेक्ष, स्पष्ट र जनमुखी नीति निर्माण गर्नुपर्ने लगायतका विषय उल्लेख छ ।
००००
ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने भएको छ ।
गाउँपालिकाले मंगलवार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म शुल्क नलिने जानकारी दिएको हो ।
००००
पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए ।
उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए ।
००००
बैङ्किङ कसुरमा पक्राउ परेका एमाले नेता तथा पूर्व कृषिमन्त्री विजयबहादुर यादव आवश्यक रकम बुझाएपछि मंगलबार छुटेका छन् ।
गएको माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौँको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहेका यादवमाथि मुद्दा दर्ता भएको थियो ।
००००
काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ ।
यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो ।
००००
काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।
००००
ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि बुधवार पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा बुधबार पनि सुनुवाइ हुने भएको हो ।
००००
सरकारले समायोजनमा गएका कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कन फारम भर्न परिपत्र गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा समायोजनमा गएका कर्मचारीहरूलाई आर्थिक वर्ष २०७९–०८० को कार्यसम्पादन मूल्याङ्कन गर्न परिपत्र गरेको हो ।
००००
मंगलबार नेप्से परिसूचक ९ दशमलव ९१ अङ्कले बढेर २ हजार १ सय ५४ दशमलव शून्य सातमा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव एक तीनमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।