११ साउन २०८३, सोमबार

यसअघिका सहमति कार्यान्वयन नहुँदासम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको अडान

साउन ३, २०८०
काठमाडौं
यसअघिका सहमति कार्यान्वयन नहुँदासम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको अडान
फाइल फोटो

नुवाकोटको ककनीका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने भएका छन् ।

यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकामा फोहोर फाल्न नदिने उनीहरूको अडान छ ।​​

एक वर्षअघि काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहोर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले जानकारी दिए। 

स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटक(पटक रोकिएको काठमाडौं उपत्यकाको फोहोरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष शुरु भएसँगै पुनः रोकिएको छ ।  

नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहोर व्यवस्थापन गर्न नदिने स्पष्ट पारे । धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङ्का अनुसार सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहोर व्यवस्थापनमा रोक लगाइएको बताए ।    

यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुपर्‍यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताउँछन् । 

विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फोहोर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो । फोहोर व्यवस्थापनमा रोक लगाएपछि फोहोरमैला व्यवस्थापन सङ्घले अदालतमा रिट दर्ता गरेको थियो ।

उक्त रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमवार अन्तरिम आदेश दिएको थियो । 
    
अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत तीन दिनदेखि स्थानीयवासीले फोहोर व्यवस्थापनमा अवरोध गरिरहेका छन् । हाल काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक तीन सय गाडी फोहोर उक्त स्थानमा लाने गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्