
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीका रूपमा आउने सरकारी कर्मचारीलाई समेत विभेदरहित ढंगले सेवा प्रवाह गर्नुपर्ने बताएका छन्।
आज राष्ट्रिय किताबखाना (निजामती) को आकस्मिक छड्के अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारवाही गरिने बताए।
त्यस क्रममा सेवाग्राहीका रूपमा किताबखानामा आएका कर्मचारीसँग छलफल गर्दै मन्त्री मोदीले सेवा वितरणमा गुनासा भए त्यसको जानकारी आफूलाई गराउन निर्देशन दिए।
कर्मचारीहरू समयमै कार्यालयमा नआउने र पूरा समय कार्यालयमा नबस्ने गुनासो आएपछि आफूले छड्के निरीक्षण गरेको बताउँदै मन्त्री मोदीले शहरमा मात्र र सुविधा युक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा समेत सरूवा गरिने बताए। ‘कोही कर्मचारी एउटै ठाउँमा बसी सिन्डिकेट कायम गर्छ भने म त्यस्तो कर्मचारीलाई दुर्गममा सरुवा गर्छु’ उनले भने।
पछिल्लो समय मन्त्रालयका सचिव लगायतका कर्मचारीको समेत हाजिरी छड्के गरेका मन्त्री मोदीले सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निजामती अस्पताल, राष्ट्रिय किताबखानाको नियमित छड्के अनुगमन गर्दै आएका छन्।
उक्त अवसरमा किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले किताबखानाबाट धेरै जसो सेवाहरू अनलाइनमा वितरण हुने गरेको, भवन आफ्नै नहुँदा सेवा प्रवाहमा समस्या भएको बताएका थिए ।
किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पति विवरण लिने कार्य गर्दछ।
हाल निजामती सेवामा पुरुष ६१ हजार ९ सय ९जना र महिला २३ हजार ९ सय ३४ जना गरी कुल ८५ हजार ८ सय ४३ कर्मचारी कार्यरत छन् । यस आव २०८०/८१ मा कुल २२ सय ६१ कर्मचारी अवकाशमा जाँदैछन्।