
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल राष्ट्र बैंकको टक्सार विभागले ब्रेक शुसहित तस्करीको सुनको तौल १५५ केजी भएको जानकारी दिएको छ ।
राजस्व अनुसन्धान विभागले तस्करीबाट समातिएको सुनको तौल जोख्न राष्ट्र बैंक पठाएको छ । राष्ट्र बैंकको टक्सार विभागमा उक्त सुन जोख्ने काम भइरहेको छ ।
सुन जोग्ने क्रममा ब्रेकशु सहितको तौल लिइएको र अब सुन मात्रै छुट्याएर फेरि तौल लिइने टक्सार विभागले जानकारी दिएको छ ।
००००
राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न रहेको भन्दै थप ३ जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।
जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
बिहीवार साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार बिहीवार साँझ पक्राउ परेका ३ जनासहित अहिलेसम्म सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन् ।
उनले यस्ता घटनाहरूबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए ।
००००
भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ । विमानस्थलबाट जाँच पास भएको करिब एक सय किलो तस्करीको सुन बरामद भएपछि छानबिन गर्न उनीहरूलाई निलम्बन सिफारिस गरिएको विभागले जनाएको छ ।
००००
दिलिप भुजेल सञ्चालक रहेको कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल २४ तारिखबाट १८ जुलाईसम्म तीन महिनाको अवधिमा जम्मा ३४ पटक समान आयात गरेको पाइएको हो ।
सिनामंगलस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो गोदाम व्यवस्थापन गरिरहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडकी इन्चार्ज सुनिता सिंहले लोकान्तरलाई दिएको जानकारी अनुसार कम्पनीले 'कन्सोल शिपमेन्ट'को नाममा हालसम्म ३४ पटक सामान गोदाममा भण्डारणगरी भन्सार जाँच पास गराई लगेको हो ।
यसैगरी तस्करी गरी भित्र्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा पाँच दिनसम्म होल्ड गरेर राखिएको खुलेको छ ।
सबै सेटिङ मिलेपछि ६३ हजार रुपैयाँ भन्सार बुझाएर जाँचपास गराई लगिरहेको अवस्थामा बुधवार सुन बरामद गरिएको हो ।
००००
सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीवार सुनको मूल्य प्रति तोलो १३ हजार ६०० रूपैयाँ पुगेको हो । नेपाली बजारमा बिहीवार सुनको मूल्य हालसम्मकै महंगोमा कारोबार भएको छ ।
००००
आन्तरिक वायुसेवा कम्पनीहरूले १ साउनदेखि करको बहानामा हवाई भाडा बढाएका छन् । सरकारले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) अनिवार्य तिर्नुपर्ने व्यवस्था गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले १३ प्रतिशतले नै हवाई भाडा वृद्धि गरेका हुन् ।
आन्तरिक वायुसेवाहरूले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले तोकेको भाडादर र इन्धन शुल्कमा १३ प्रतिशतले भ्याट जोडेर १ साउनदेखि नै टिकट बिक्री गरिरहेको छन् ।
००००
चालू आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
चालू आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ ।
००००
स्थानीय वासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ ।
महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित शहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।
००००
चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९–८० मा प्रदर्शनमा आएका फिल्महरूको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ ।
बोर्डले ५७ स्वदेशी र ७८ विदेशी गरी जम्मा १३५ वटा फिल्मको बक्स अफिस कमाई रिपोर्ट बिहीवार सार्वजनिक गरेको हो ।
००००
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले बोलेका छन् ।
००००
सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो । अदालतले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।