
काठमाडौं, २८ भदौ — कैयौं वर्षदेखि उनी शान्तिपूर्ण विद्रोहको प्रतीक थिइन् । आफ्नो देश म्यान्मारमा अहिंसक तरिकाले लोकतन्त्र ल्याउनका लागि उनी लागिपरेकी थिइन् ।

आङ सान सु कीलाई विश्वमा सम्मान गरिन्थ्यो र नोबेल शान्ति पुरस्कार पनि दिइयो । घरमा १५ वर्षसम्म नजरबन्दमा रहँदा पनि उनले सत्तारूढ सैनिक शासनविरुद्ध हिंसा भड्काउन अस्वीकार गरेकोमा उनको प्रशंसा भएको थियो ।
उनको यो शान्तिपूर्ण विद्रोह सफल पनि भयो र म्यान्मारमा वर्षौंदेखि चलेको सैनिक शासन अन्त्य भयो र लोकतन्त्र आयो ।
तर अहिले उक्त क्षेत्रमा लोकतन्त्रकी यी प्रतीकको पुत्लादहन भइरहेका छन् । मानिसहरू म्यान्मारको सेनाले अल्पसंख्यक रोहिंग्या मुसलमानहरूमाथि दमन गरेर हजारौंलाई पलायन हुन बाध्य बनाउँदा पनि उनले केही नगरेको भनी क्रुद्ध छन् ।
‘अहिले आम हत्या भइरहेका छन् र आङ सान सु कीको कार्यालयले यसलाई रोक्न कुनै प्रयत्न गरेको छैन । अझ उनीहरूले आगोमा घिउ हाल्ने काम पो गरिरहेका छन्,’ फोर्टीफाई राइट्स नामक मानवअधिकारवादी संस्थाका संस्थापक म्याथ्यु स्मिथ बताउँछन् ।
देशको सेनाले रोहिंग्यामाथि हिंसा मच्चाएको भएपनि सु की म्यान्मारकी वास्तविक नेता हुन् । उनी आधिकारिक रूपमा स्टेट काउन्सिलर हुन् र राष्ट्रपतिको विश्वासपात्र मानिन्छिन् ।
सु कीले जिन्दगीभरि मानवअधिकार र लोकतन्त्रका लागि लडेको भएपनि रोहिंग्या संकटमा उनले देखाएको मौनताले उनका समर्थकहरू निराश छन् । तर अहिलेको घटनाक्रमभन्दा धेरैअघि पनि सु कीले म्यान्मारका मुसलमानप्रति असंवेदनशीलता देखाएकी थिइन् ।
सन् २०१३ मा बीबीसीलाई अन्तर्वार्ता दिँदा उनले रोहिंग्यामाथि गरिएको कारवाहीलाई जातिसफाया भन्न नमिल्ने बताएकी थिइन् । त्यतिखेर पनि उनलाई अल्पसंख्यकको पक्षमा नउभिएको आरोप लागेको थियो ।
‘संसारले के बुझ्नुपर्छ भने मुसलमान मात्र त्रासमा छैनन्, बौद्ध धर्मावलम्बीहरू पनि डरमै बाँचिरहेका छन्’, उनले भनिन् । पत्रकार मिशाल हुसेनले हिंसाका कारण मुसलमानले बढी नै दुःख बेहोर्नुपरेको र दशौं हजारजना भाग्न बाध्य भएको बताउँदा सु कीले उत्तरमा मुसलमानको नाम पटक्कै लिइनन् ।
पछि आएको एक किताबका अनुसार सु कीले अन्तर्वार्ता सकिएर बाहिर निस्किएपछि भनिन्, ‘मलाई मुसलमानले अन्तर्वार्ता लिन्छ भनेर कसैले भनेनन् ।’
यी र अन्य अभिव्यक्तिबाट सु कीले मुसलमानहरूप्रति घृणा देखाएको आरोप लाग्ने गरेको छ । लोकतन्त्र र मानवअधिकारकी योद्धा यसरी अल्पसंख्यकविरुद्ध लागेकोमा उनको पतन देखिएको विश्लेषकहरू बताउँछन् ।
सीएनएनबाट