१० असार २०८३, बुधबार

काभ्रेमा ‘लम्पी स्किन’बाट ६८१ पशुको मृत्यु

साउन ७, २०८०
काभ्रेपलाञ्चोक
काभ्रेमा ‘लम्पी स्किन’बाट ६८१ पशुको मृत्यु

लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार ७४३ पशु संक्रमित बनेका छन् ।

यो रोगबाट जिल्लामा ६८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा ६८१ पशुको मृत्यु भएको छ । 

रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैंसी समेत मरेका हुन् । केन्द्रका अनुसार जिल्लामा ३० हजार ७४३ पशु संक्रमित बनेकामध्ये ३० हजार ४६४ गाई, २७९ भैंसी रहेका छन् । 

केन्द्रका निमित्त प्रमुख डा. नितेश कार्कीले प्रभावित पशु चौपायाको संख्या पनि उत्तिकै रहेको बताए । उनका अनुसार ३३ हजार गाई र ३९९ भैंसी प्रभावित हुँदा हालसम्म ३२ हजार ८०० पशुमा रोगविरुद्ध खोप लगाइएको छ । खोप लगाइएका पशुमा रोग देखिएको छैन । जिल्लामा ३ लाख गाईभैंसी रहेका छन् ।

जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै संक्रमणदर रहेको छ । बनेपाको ६ वटा वडामा ११८ पशु मरिसकेको तथ्यांकले देखाएको छ । बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ ।

बनेपामा ६ हजार १५ वटा पशु संक्रमण भएकामध्ये ५ हजार गाईमा खोप लगाएको छ । यहाँ प्रभावित पशु संख्या ६ हजार २०० छ । वडा नम्बर १ देखि ५ सम्म र १० नम्बर वडामा संक्रमण फैलिएको जनाइएको छ । 

केन्द्रका अनुसार पाँचखाल नगरमा १०० पशु मरिसकेका छन् । धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौंरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन् । चौंरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेबापत १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ । 

जिल्लामा महामारीको रूप लिएको रोग नियन्त्रण बाहिर गएको बताइन्छ । रोगका कारण अहिले पशुपालन व्यवसाय नै संकटमा परेको कृषक बताउँछन् । सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्