
गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ ।
भन्सार विभागले सोमवार सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापार सम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कूल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो ।
अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले कूल १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाखमा सीमित भएको देखिएको हो ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष मुलुकले कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गर्दा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख बराबरको मात्रै निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १६ दशमलव ०८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा ८ दशमलव ८८ प्रतिशत बराबर छ । अर्थात् नेपालले गरेको कूल निर्यातको तुलनामा कूल आयात १० दशमलव २६ गुणाले बढी हो । गत वर्ष आयातित वस्तुबाट कूल ३ खर्ब ७७ अर्ब २६ करोड ४ लाख बराबरको भन्सार राजस्व उठेको छ ।
बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा देखिएको छ । गत वर्ष नेपालले सबैभन्दा धेरै १ खर्ब ५३ अर्ब ७७ करोड बराबरको डिजेल मात्रै आयात गरेको छ । ६६ अर्ब ८४ करोड ४८ करोड बराबरको पेट्रोल र ५८ अर्ब १५ करोड ४१ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
फलामजन्य वस्तुको आयातमा ४३ अर्ब ६० करोड, कच्चा सोयाबिन तेल आयातमा ३५ अर्ब ५८ करोड, कोइला आयातमा २७ अर्ब १२ करोड र कच्चा पाम तेल आयातमा २५ अर्ब ९१ करोड बराबर बाहिरिएको देखिन्छ ।
बढी निर्यात भएका वस्तुमा कार्पेट पहिलो नम्बरमा छ । गत आर्थिक वर्ष नेपालले ११ अर्ब ५० करोड ६६ लाख बराबरको कार्पेट निर्यात गरेको छ । १० अर्ब ७१ करोड बराबरको प्रशोधित पाम तेल, ८ अर्ब ४७ करोड बराबरको सोयाबिन तेल र ८ अर्ब २७ करोड बराबरको अलैंची निर्यात गरेको छ ।