
नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनलाई सुदृढ गर्दै राजनीतिक स्थायित्व कायम गर्ने संकल्प गरेको छ ।
बुधबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकपछि सार्वजनिक गरिएको १८ बुँदे निर्णयमार्फत कांग्रेसले सत्ता गठबन्धनलाई सुदृढ गर्दै राजनैतिक स्थिरता कायम गर्ने संकल्प लिएको हो ।
‘विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यले बनेको यो सत्ता गठवन्धनलाई सुदृढ गर्दै राजनैतिक स्थिरता कायम गर्नु हामी सबैको दायित्व हो’, कांग्रेसले भनेको छ, ‘यसैको जगमा राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा, लोकतन्त्रको लागि लामो समय जेल जीवन बिताउनु भएका, संविधान निर्माणमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचन हुनु भएको स्थिति छ ।’
कांग्रेसले २०७९ का सबै तहका निर्वाचनमा वर्तमान गठवन्धनकै तर्फवाट भाग लिएको स्मरण पनि गरेको छ । परिणाम सन्तोषजनक आएता पनि यसै विषयलाई लिएर गठवन्धनमा आवद्ध सबै दलहरुका वीचमा केही असन्तुष्टीहरु देखा परेको कांग्रेसको बुझाइ छ । जसका कारण संघीय सरकार निर्माणका दौरानमा पहिलो चरणमा कठिनाइ सृजना भएको कांग्रेसले जनाएको छ ।
‘परिणामत हाम्रा अगाडि आएका केही महत्वपूर्ण राष्ट्रिय र प्रादेशिक जिम्मेवारी प्राप्त गर्ने अवसरहरु अनयास टरेर गए । यसले गठवन्धनका अन्य दलहरुमा अन्यौलता सृजना ग-यो भने नेपाली काँग्रेसको सिङ्गो सांगठनिक संरचना भित्र र बाहिर निराशा छायो’, कांग्रेसले भनेको छ, ‘प्रतिकूल राजनीतिक परिस्थितिमा समेत किञ्चित विचलित नभई होसियारी साथ हाम्रा अनुभवी नेताहरुले आफ्नो राजनैतिक कौशलता प्रदर्शन गर्नु भयो र नेपाली राजनीतिलाई लयमा फर्काउनु भयो । यस परिघटनाले नेपाली राजनीतिमा नेपाली कांग्रेसको प्रतिष्ठा बढ्यो भने गठबन्धनमा आवद्ध दलहरूले थप भरोसा गरे । निराश भएका कांग्रेसजनमा पुनः उत्साह छायो ।’
कांग्रेसले प्राप्त अवसरहरुलाई उच्चतम प्रयोग गरि मुलुक र जनताको हितमा काम गर्न सकिएमात्रै जनताको विश्वास जित्न सफल हुने ठहर गरेको छ । ‘त्यसैले नेपाली कांग्रेसको तर्फवाट निर्वाचित स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सबै तहका जनप्रतिनिधिहरुलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरि परिचालन गर्ने सङ्कल्प गर्दछ’, कांग्रेसले भनेको छ ।