
अब जेलर आफूखुसी चौकीदार नियुक्त गर्न नपाउने भएका छन् । केन्द्रीय कारागार व्यवस्थापन विभागले सबै कारागारलाई परिपत्र गर्दै तीन सदस्यीय समिति निर्माण गरेर मात्रै चौकीदार नियुक्त गर्न निर्देशन दिएको हो ।
पछिल्लो समयमा कारागारमा चौकीदार नियुक्तिका विषयमा विवाद आएपछि गृहमन्त्रालयको सहमतिमा विभागले परिपत्र गरेको हो ।
समितिमा सम्बन्धित जेलका जेलर, प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रमुख वा उनले तोकेको अधिकृत रहने कारागार व्यवस्थापन विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले बताए ।
‘सबै कारागारलाई परिपत्र भएको छ । जसमा ३ सदस्यीय समितिले चौकीदार छान्ने व्यवस्था गरिएको छ,’ प्रवक्ता पाण्डेले लोकान्तरसँग भने, 'समितिमा सम्बन्धित जेलका जेलर, जिल्ला प्रशासन कार्यालयका सीडीओ वा उनले तोकेको अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रमुख वा उनले तोकेको अधिकृत रहनेछन् ।'
चौकीदार छान्दा कारागार नियम कानून जान्ने, नेपालको संविधान र कानूनका बारेमा जानकार भएको, पढ्न लेख्न राम्रो ज्ञान भएको र नेतृत्व क्षमता भएको कैदीलाई चौकीदार नियुक्त हुने व्यवस्था गरेको छ ।
यसले गर्दा विगतमा जेलका जेलरले पैसाको लोभमा आफू अनुकूल कैदीलाई नियुक्ति गर्ने प्रचलनको अन्त्य हुने विश्वास लिइएको छ ।