०५ साउन २०८३, मंगलबार

स्वस्तिमा भन्छिन् – डान्सिङ नम्बरका गीत मेरो लागि जहिल्यै स्पेशल

साउन १२, २०८०
काठमाडौं
स्वस्तिमा भन्छिन् – डान्सिङ नम्बरका गीत मेरो लागि जहिल्यै स्पेशल

अभिनेत्री स्वस्तिमा खड्काको अभिनय करिअरमा गीतले ठूलो भूमिका खेलेका छन् । फिल्म ‘२ रुपैंयाँ’मा समावेश उनको नृत्य रहेको गीत ‘कुटुमा कुटु’ले युट्युबमा सर्वाधिक भ्युज पाएको छ । 

त्यस्तै, उनको नृत्य रहेको गीत ‘साली मनपर्यो’ले युट्युबमा ११ करोड बढी भ्युज पाएको छ ।

करोड क्लबमा पुगेका उनको नृत्य रहेका गीतहरूको संख्या धेरै छ । त्यसैले पनि अभिनेत्री स्वस्तिमा गीतको महत्व आफ्नो करिअरमा ठूलो रहेको बताउँछिन् । त्यसमा पनि डान्सिङ नम्बरका गीतहरूले आफ्नो करिअरमा ठूलो प्रभाव पारेको उनको धारणा छ ।​ 

बिहीवार उनी अभिनीत फिल्म ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक कार्यक्रममा पनि स्वस्तिमाले डान्सिङ नम्बरका गीतहरू आफ्नो लागि जहिल्यै विशेष हुने धारणा राखिन् । 

‘मेरो करिअरमा गीतहरू एकदमै माइलस्टोन बनेको छ । त्यसमा पनि डान्सिङ नम्बरका गीतहरू मेरो लागि जहिले पनि स्पेशल हुन्छ’ उनले भनिन् ‘र, यो गीत (काले केटाले) पनि मेरो लागि स्पेशल थियो । किनकी यो डान्सिङ नम्बरको थियो ।’

आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको ‘काले केटाले’मा एलेक्स विश्वकर्माका साथमा फिल्मका शीर्ष कलाकारहरू स्वस्तिमा, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला लगायतको अभिनय छ । अभिनेत्री स्वस्तिमाले एलेक्स विश्वकर्माको नृत्यको खुलेर प्रशंसा गरिन् । 

उनले ‘ऐंचो पैंचो’मा सुशील, वर्षा र मुकुनसँग काम गर्न पाउँदा एकदमै खुशी लागेको समेत बताइन् । 

स्वस्तिमाको पहिलो फिल्म ‘होस्टेल रिटन्र्स’मा सुशील को–एक्टर थिए, उक्त फिल्म सुपरहिट भएको थियो । त्यसपछि वर्षा राउतसँग काम गरेको फिल्म ‘छक्का पञ्जा २’ पनि सुपरहिट भएको थियो । त्यसपछि अभिनेता मुकुनसँग खेलेको फिल्म ‘बुलबुल’ले स्वस्तिमालाई थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड दिलाएको थियो । ‘यो फिल्ममा तिनै जनासँग जोडिएर काम गर्न पाउँदा राम्रो हुन्छ होला भन्ने अपेक्षा छ’ स्वस्तिमाले भनिन् ‘राम्रोसँग काम भएको छ । ट्रेलर हेर्नका लागि पनि उत्साहित छु ।’ 

कृषा चौलागाईंको निर्देशनमा तयार ‘ऐंचो पैंचो’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्