काठमाडौं, २९ भदौ— अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ‘सेन्टर फर रिप्रोडक्टिभ राईट्स्’ को सामाजिक लेखाजोखा कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ ।

महिलाको प्रजनन् स्वास्थ्य अधिकार र आत्मसम्मानका सवालमा केन्द्रीत संस्थाको उक्त कार्यक्रममा बोल्दै व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका अध्यक्ष रञ्जु कुमारी झाले प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारमा पहुँच पुग्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘महिलाको सशक्तीकरण र समग्र विकासका लागि नेपालको संविधान प्रदत्त अधिकार अनुसार प्रत्येक महिलाको प्रजनन् स्वास्थ्य अधिकारमा पहुँच हुनुपर्दछ । नेपालको सन्दर्भमा महिलाको प्रजनन् स्वास्थ्य हकहितको प्रवर्द्धनमा सेन्टर फर रिप्रोडक्टिभ राईट्सको महत्वपूर्ण योगदान रहेको छ ।’
यस्तै परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. नरेश प्रताप केसीले नेपालमा महिलाको प्रजनन् स्वास्थ्य अधिकारलाई संवैधानिक अधिकारको रुपमा स्थापित गर्न संस्थाले नेतृत्वदायी भूमिका खेलेको बताए ।
सो क्रममा संस्थाकी राष्ट्रिय प्रतिनिधि सोनाली रेग्मीले स्थापनाकालदेखि गरिएका कार्यक्रमगत प्रयत्नहरु, आयव्ययको विवरण, चुनौति र सिकाईहरु सहित साझेदार संस्थाहरुसँगको सहकार्यमा हासिल भएका उपलब्धी र प्रभावहरु प्रस्तुत गरिन् ।
संस्थाले राष्ट्रिय महिला आयोग, राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपाल, महिला, कानून र विकास मञ्च, न्याय तथा अधिकार संस्था—नेपाल, प्रगतिशिल नेपाल र पैरवी अभियान नेपाल लगायतका संघसंस्थाहरुसँगको साझेदारीमा काम गरिरहेको छ ।