१६ असार २०८३, मंगलबार

‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन शनिबारदेखि आउने

साउन १७, २०८०
काठमाडौं
‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन शनिबारदेखि आउने

कमेडी रोस्टिङ टेलिभिजन शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउँदो शनिबार (साउन २०)देखि प्रसारणमा आउने भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरियो । दोस्रो सिजनको पहिलो भागमा राजनीतिज्ञ केशव स्थापित अतिथि छन् । यो शो प्रत्येक शनिबार राती ८ः४५ बजे नेपाल नेटवर्क टेलिभिजन  (एनएन टीभी) र ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुने कार्यक्रममा जानकारी गराइयो । 

पहिलो सिजनको तुलनामा अझै राम्रो र केही परिमार्जन गरिएको आयोजक टिमले जनाएको छ । शोकी निर्देशक श्रद्धा प्रसाईका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरञ्जन लिन सक्नेछन् । उनले भनिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा मिहिनेत पनि बढी गरिरहेका छौँ । साथै परिवर्तनको कुरा गर्दा कमेडियन प्रनेश गौतम भित्रिएका छन् ।’ 

होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेष्ट अझ विशेष हुने जानकारी गराए । उनले अहिलेसम्म पाँच वटा भागको छायांकन भइसकेको र आगामी छायांकनका लागी पनि विभिन्न कलाकारदेखी राजनीतिज्ञसँग कुरा भइरहेको जानकारी गराए । बढी व्यङ्ग्य हुने भएकाले गेष्ट आउन गाह्रो मान्छन् रे नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा बिक्कीले भने, ‘पहिलो सिजनमा केही समय त्यस्तो भएको हो तर अहिलेको सिजनमा त्यो छैन । किनकी हामीले अहिलेको सिजनमा गेष्टलाई पहिले नै यत्तिको व्यङ्ग्य गर्दैछौँ अथवा कार्यक्रम छायांकन भइसकेपछि पनि उहाँहरूले कुनै दृश्य नराख्नु भन्नुभयो भने सम्पादन गरिदिने गरेका छौँ ।’ 

शोको गेष्ट म्यानेजमेन्टको काम गोपिकृष्ण चापागाईँले गरेका छन् । चापागाईँका अनुसार पहिलो सिजन भन्दा दोस्रो सिजनमा गेष्ट ल्याउनका लागी धेरै सहज भएको छ ।

यस शोमा बिक्की अग्रवाल होस्टको रुपमा छन् भने विना त्रिपाठी डिजे मायाको भूमिकामा देखिने छिन् । यस्तै दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिएका हुन् । शोको लेखनको काम शुशान्त बस्याल र विकास अर्यालले गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्