
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय र क्षेत्रीय ध्रुवीकरणको भूराजनीतिक प्रभाव नेपालमा पर्न थालेको बताएका छन् ।
राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गरेर लानुपर्ने चुनौती खडा भएको उनले बताए ।
केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भूराजनीतिक संवेदनशीलता भएको देशमा अन्तर्राष्ट्रिय र क्षेत्रीय ध्रुवीकरणको प्रभाव पर्न थालेको बताएका हुन् ।
‘अन्तर्राष्ट्रिय राजनीति र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रक्रिया देखा परेका छन्, युद्ध र द्वन्द्व, प्रतिस्पर्धा र द्वन्द्वका सिलसिला नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा त्यसको प्रभाव परिरहेको छ । अगाडिका दिनमा अझ बढी पर्ने संकेत प्रष्ट देखिएका छन्’ प्रचण्डले भने, ‘त्यस्तो स्थितिमा राष्ट्रियतालाई सुदृढ गर्नका लागि केन्द्रीय समितिको बैठकले गहन छलफल गरेर समुचित निष्कर्ष निकाल्नु पर्नेछ ।’
राजनीतिक प्रतिवेदनमा पनि प्रचण्डले यो कुरालाई समावेश गरेका एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय समिति उद्घाटनका क्रममा प्रचण्डले नेपालमा भूराजनीतिक प्रभाव परिरहेको बताएका हुन् ।