
संघको राजनीतिक गठबन्धनका कारण सभामुख बाबुराम गौतमले राजीनामा दिनुपरेको भन्दै कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ‘हाम्रै कारण कुर्सीमा छौ’ भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका कारण सभामुखले राजीनामा दिनुपरेको बुझाइमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने माओवादी सांसदहरू देखिन्छन् ।
साथै केन्द्रका कारण स्वतन्त्र ढंगले निर्णय लिन समेत नसकिएको भन्दै असन्तुष्टि चुलिएको छ ।
‘केन्द्रले कता फर्केर सास फेर्छ, हामी पनि त्यतै फेर्छौं,’ प्रदेशसभा सदस्य गणेश उप्रेतीले भने, ‘केन्द्रको जुँगा कता हल्लिन्छ, प्रदेशमा पनि त्यतै चल्नुपर्ने बाध्यता छ ।’
कांग्रेसकै समर्थनमा प्रचण्ड मुलुकको प्रधानमन्त्री छन् । कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसले सोही कुरा देखाएर दबाब दिएको उनको बुझाइ छ ।
पहिलोपटक उद्धव थापाको नेतृत्वमा सरकार बनाउने मुख्य योजनाकार थिए, नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता तथा कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझी र प्रचण्डका ज्वाइँ जीवन आचार्य ।
सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका रायमाझी र आचार्यले थापा नेतृत्वको सरकार बनाउन सभामुख गौतमलाई हस्ताक्षर गराउन लगाएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धनको बैठक सरकारमा दाबी गर्न जाँदा कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित) एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको हस्ताक्षर संसदीय दलका नेताले गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका उद्धव थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका राजेन्द्र राई र जसपाकी निर्मला लिम्बूले हस्ताक्षर गरेका थिए ।
उनीहरू असार २१ गते दिउँसो काठमाडौंबाट त्यही हस्ताक्षर लिएर विराटनगर आएका थिए । दाबी पेस गर्न जान हस्ताक्षर गरिएको कागज रायमाझीसँग थियो ।
विराटनगर आएपछि भने रायमाझीले सभामुखको छुट्टै हस्ताक्षर चाहिने भन्दै सभापति शेरबहादुर देउवालाई भनेका थिए । उनले सभामुख र एउटा विकासे मन्त्रालय राप्रपालाई दिँदा सरकारमा आउने विश्वास देउवालाई दिलाएको स्रोतको दाबी छ ।
‘गौतमलाई हस्ताक्षर गराएपछि उनी विवादमा आउँछन् र राजीनामा दिन्छन्, त्यसपछि राप्रपालाई सभामुख र भौतिक विकास मन्त्रालय दिनुपर्छ भन्ने उहाँको सुझाव थियो,’ स्रोतले लोकान्तरसँग भन्यो ।
यसक्रममा प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई रायमाझीले मुख्यमन्त्री पछाडिको वरीयतामा मन्त्री बनाउने आश्वासन दिएर साथमा लिएको स्रोतको दाबी छ ।
सभामुखलाई हस्ताक्षर गराउन भन्दै देउवाले प्रधानमन्त्री प्रचण्डलाई दुईपटक फोन गरेपछि रायमाझी सभामुखको सचिवालयमै पुगेका थिए ।
सभामुखको हस्ताक्षर गराउन सहयोग गरेकोमा आचार्यलाई आर्थिक मामिला मन्त्री बनाइएको थियो ।
दोस्रो चरणमा सभामुखको राजीनामा गराउन पनि आचार्यले भूमिका खेलेको आरोप माओवादीकै नेताहरू लगाउँछन् ।
प्रधानमन्त्री प्रचण्डसमक्ष समेत राजीनामा नदिने अडान राखेका गौतमलाई राजीनामा गराउन आचार्यले भूमिका खेलेको अधिकांश सांसदको बुझाइ छ ।
उनको भूमिकालाई लिएर पनि पार्टीभित्र चरम असन्तुष्टि छ ।
सभामुखबेगर ४६ जना सांसद मात्र पुग्ने र सभामुखको हस्ताक्षरसहित अर्को सरकार बनाउन सर्वोच्चको फैसलाले नमिल्ने भएकाले सभामुख गौतमलाई राजीनामा गराइएको हो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
सभामुखको राजीनामापछि कांग्रेसका उद्धव थापा दोस्रोपटक मुख्यमन्त्री बनेका छन् ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल केन्द्रको गठबन्धन बचाउन सभामुखलाई राजीनामा दिन लगाइएको बताउँछन् ।
‘सभामुखले नैतिकताको हिसाबले राजीनामा दिनुभएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर अहिलेको अवस्थामा सरकार बनाउन राजीनामा गराउँदा स्थायी समाधान निस्किँदैन ।’