
काठमाडौं, ३० भदौ — अमेरिकाको कान्सास राज्यमा एक भारतीय मूलका चिकित्सकको चक्कुप्रहार गरेर हत्या भएको छ । उनकै एक बिरामीलाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बुधवार विचिता भन्ने ठाउँमा अच्युत रेड्डी नामक चिकित्सकको हत्या भएको हो । गत फेब्रुअरी महिनामा श्रीनिवास कुचीभोत्लाको पनि कान्सासमै हत्या भएको थियो ।
रेड्डीलाई हत्या गरेको आशंका पक्राउ परेका व्यक्ति २१ वर्षीय उमर रशिद दत्त हुन् । दत्तले रेड्डीलाई क्लिनिकमा आक्रमण गरेर नजिकैको गल्लीसम्म लखेट्दै ल्याएर हत्या गरेका थिए ।
रेड्डीले उपचारमा योग पनि गराउँथे र उनको राम्रो प्रतिष्ठा थियो । बेलुका ७ बजेतिर उनको हत्या भएको हो ।
रेड्डीमाथि आक्रमण भएपछि उनको व्यवस्थापकले आक्रमणकारीलाई रोक्न कोशिश गरेर रेड्डीलाई भाग्ने मौका दिएको भएपनि आक्रमणकारीले उनलाई गल्लीमा लखेटेर पुनः आक्रमण गरी मारेको थियो । रेड्डीको शरीरमा चक्कुप्रहारका धेरै निशानहरू थिए र उनको उपचार गर्न आएको संकटककालीन मेडिकल टोलीले उनलाई मृत पायो ।
आक्रमणकारी दत्तलाई केही समयपछि एउटा कन्ट्री क्लबनजिक पक्राउ गरिएको थियो । रगत लत्पतिएको व्यक्तिलाई कारमा देखेपछि क्लबका सुरक्षागार्डले प्रहरीलाई खबर गरेका थिए ।
दत्त पूर्वविद्यार्थी भएको प्रहरीले बतायो ।
एजेन्सी