काठमाडौं, २६ पुस — बलिउडका सुपरस्टार हृत्तिक रोशन मंगलवार ४३ वर्षका भए ।

सन् २००० मा बलिउड प्रवेश गरेका थिए हृत्तिकले । तीन खानहरूको दबदबा रहेको बलिउडमा नयाँ अनुहारको खोजी भइरहेको थियो । त्यतिखेरै हृत्तिक झुल्किए ।
पुराना फिल्म स्टार राकेश रोशनका छोरा हृत्तिकले शुरुमै ब्लकबस्टर फिल्म ‘कहो ना प्यार है’ खेले । यस फिल्मबाटै उनी तीन खानलाई टक्कर दिन सक्ने अभिनेताका रूपमा दरिए ।
हृत्तिकले कैयौं ब्लकबस्टर हिट फिल्महरू खेलेका छन् । यसले निर्माताहरूको भाग्य त चम्काएको छ नै, उनका प्रशंसकको संख्या पनि बढाएको छ । अझ, युवतीहरू त उनलाई देखेर मख्खै पर्छन् ।
सन् २०१६ मा भने उनले कुनै कमाल गर्न सकेनन् । तर यो वर्ष काबिल नामक फिल्मबाट उनले धमाका गर्ने अपेक्षा छ ।
सुन्दर अनुहार, गजबको नृत्यकला, सशक्त अभिनयका कारण हृत्तिक फ्यानहरूको हृदयमा छाउन सफल छन् ।
करीयरको शुरुमै आतंकवादीको चुनौतीपूर्ण भूमिका खेलेर हृत्तिकले आफू जोखिम मोल्न नडराउने संकेत दिएका थिए । रोमान्टिक हिरोको छविको मतलब नगरेर उनले विविध किसिमका भूमिकामा हात हाले ।
कोई मिल गयामा बौद्धिक अपांग, धूम २ मा चोर, गुजारिशमा मृत्युको इच्छा राख्ने अपांग जादूगर, अग्निपथमा बदलामा जल्ने छोरो, जोधा अकबरमा सम्राट् अकबर र लक्ष्यमा दिशाहीन युवा — हृत्तिकले सबैखाले भूमिका निर्वाह गरेका छन् ।
उनी बलिउडका प्रथम सुपरहिरो हुन् । क्रिशमा उनी सुपरहिरो थिए र उनलाई बालबालिकाले खुबै मन पराए ।
उनले छवटा फिल्मफेयर अवार्ड जितेका छन् । वैवाहिक जीवनमा समस्या आएपनि उनी गरीब दुःखीको सहायता गरेर सबैको प्रियपात्र बन्न सफल भएका छन् ।
दी इन्डियन एक्सप्रेस