
सप्तरी, ३० भदौ – सप्तरीको कञ्चनपुर नगरपालिकामा एमाले, माओवादी र लोकतान्त्रिक फोरमको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय वासिन्दाहरुका अनुसार कञ्चनरुप नगरपालिमा कांग्रेस तुलनात्मक रुपमा कमजोर देखिएको छ ।
मधेसवादी दलले आफ्नो गढ ठान्ने सप्तरीमा त्रिपक्षीय भीडन्तको संकेत देखिएको हो । उक्त ठाउँमा माओवादीबाट मानपुर चौधरीले २०७० को संविधानसभा सदस्यको चुनाव जितेका थिए ।
कञ्चनरुप पूर्वपश्चिम राजमार्गसँगै जोडिएको ठाउँ हो । लोकतान्त्रिक फोरमबाट जेपी गुप्ताका भाइ दिपक गुप्ता मेयरमा उठेका छन् ।
राजमार्ग भन्दा तल तराई केन्द्रीत दलहरुको गढ ठानिन्छ भने माथितिर अरु दलहरुको गढ ठानिन्छ । तर कञ्चनरुप यस्तो ठाउँ हो, जुन बीचमा छ । त्यसैले यहाँ कुनैपनि दलको गढ छ भन्न सकिँदैन् ।
बसाईंको हिसावले पनि तरार्इ र पहाडेहरूकाे जनसंख्या बराबर जस्तै छन् । जातीयता र क्षेत्रीयता भन्दा माथि उठेर कञ्चनरुपमा स्थानीयले राजनीतिक मुद्दाका आधारमा भोट हाल्ने बताउँछन् । बरु वर्गीय मुद्दालाई आफूहरुले ध्यान दिने उनीहरुको भनाइ छ ।
कञ्चनरुपमा एमालेबाट बसन्त मिश्र, कांग्रेसबाट ललन गुप्ता, माओवादीबाट बन्सी चौधरी, लोकतान्त्रिक फोरमबाट दिपक गुप्ता मेयरका प्रतिस्पर्धी छन् ।
‘विगतमा जे जस्ता आन्दोलन भएपनि यो मधेसी र पहाडी मिलेर बसेको ठाउँ हो, चुनावले फेरि सबैलाई एकताबद्ध बनाएको छ,’ कञ्चनरु ९ का ४१ वर्षीय रामप्रसाद यादव भन्छन्, ‘यहाँ दुई समुदायका बीचमा कुनैपनि किसिमको भेदभाव समेत छैन ।’ उनले जुन दललाई भोट हाले पनि राजनीतिक मुद्दाका आधारमा भोट हाल्ने समेत बताए ।
सोही ठाउँका शिवशंकर यादवले राम्रो मान्छेलाई भोट हाल्ने बताउँछन् । ‘कांग्रेस कमजोर छ, अरु दलका बीचमा प्रतिस्पर्धा हुने हो,’ उनी भन्छन्, ‘विगतको चुनावको आधारमा माओवादीले जित्छ कि भन्ने मैले बुझेको छु ।’
कञ्चनरुपका ५० वर्षीय दिनेश भुजेलले मधेशवादी दलहरु कमजोर भएकोले नगरपालिकामा एमालेले चुनाव जित्ने बताउँछन् । माओवादीले जितेको ठाउँ भएपनि एमालेले राम्रो उम्मेदवार उठाएका कारणले चुनाव एमालेले नै जित्ने उनले बताए ।
सोही ठाउँका ५१ वर्षका पैयव शाहले चाहिँ बाहिर हल्ला गरिएजस्तो कांग्रेस कमजोर नभएको बताउँछन् । ‘यो ठाउँलाई मधेशवादी दलले आफ्नो विर्ता ठानेका छन्,’ उनी भन्छन्, ‘तर चुनाव चाहिँ कांग्रेसले जित्छ ।’