०५ असार २०८३, शुक्रबार

फल दिने बेला सुकेर मर्न थाले अलैंचीका बोट, ताराखोलाका किसान चिन्तित

साउन २२, २०८०
बाग्लुङ
फल दिने बेला सुकेर मर्न थाले अलैंचीका बोट, ताराखोलाका किसान चिन्तित

बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विक्रम संवत् २०७६ सालदेखि कृषकले व्यावसायिक अलैंची खेती गर्दै आएका छन् ।

शुरूमा अलैंचीका बिरुवा हुर्किंदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैंचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । ४ वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैंची खेती गरे पनि व्यावसायिक रूपमा भने गरिएको थिएन ।

गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यावसायिक रूपमा अलैंची खेती गर्न थालेका हुन् । 

असार महिनादेखि अलैंची फूल्न थालेपछि बोट सुक्न थालेको हो । अहिलेसम्म सयौं बोट सुकेर नष्ट भएका छन् । अपरिचित रोगबाट अलैंची मर्न थालेपछि कृषक सशंकित बनेका छन् । अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्तीमगरले जानकारी दिए । आफूले २ रोपनी क्षेत्रफलमा स्थानीय जात र ९ रोपनीमा भार्लाङ जातको गरी ११ रोपनी क्षेत्रफलमा अलैंची लगाएको बताउनुभयो । त्यसमध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उनले बताए ।

ताराखोला–२ अर्गल गाउँका खोला किनारमा धेरै किसानले अलैंची लगाएको जनाउँदै सबैको अलैंचीको बोट सुक्दै गएको स्थानीय घर्तीमगरले बताए । गाउँमा अलैंची राम्रो हुने सम्भावना देखेपछि आफूले ४ लाखमा जग्गा खरिद गरी बिरुवा लिएर लगाएको जनाउँदै अहिले समस्या आएपछि लाखौंको नोक्सान हुन थालेको उनको भनाइ छ । अलैंचीमा समस्या देखिएपछि गाउँपालिकाको कृषि प्राविधिकलाई जानकारी गराएको घर्तीमगरले बताए ।

‘गाउँमा पहिले स्थानीय जातको अलैंची लगाएको थिएँ, त्यो निकै राम्रो भएको थियो, फल पनि राम्रो दिएको थियो, त्यही देखेर उन्नत जातको बीउ पूर्वबाट लिएर लगाइयो, केही समय राम्रो भएको थियो, अहिले समस्या आयो,’ स्थानीय घर्तीमगरले भने, ‘११ रोपनीमध्ये २ रोपनीमा स्थानीय जातको र ९ रोपनीमा बाहिरबाट ल्याएर लगाए, पोहोर सालनै केही बोट मरेका थिए, अहिले धेरैमा यो समस्या देखियो, गाउँमा अरु किसानले लगाएको अलैंचीमा पनि यही समस्या छ, के भएर मरे ? अब कसरी अरु बिरुवा बचाउने भन्ने चिन्ता छ ।’

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ढुसीजन्य रोगका कारण अलैंचीका बोट मर्न थालेको बताए । उनले ताराखोला मात्रै नभएर अलैंची खेती हुने जिल्लाको काठेखोला र बरेङमा पनि यो समस्या आएको बताए । सुक्खाको कारणले अलैंचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने भट्टराईको भनाइ छ । यो रोगका कारण जिल्लामा पछिल्लो केही वर्षयता उत्पादनमा कमी आउन थालेको उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्