
सप्तरी, ३० भदौ – मधेस आन्दोलनको केन्द्रबीन्दु सप्तरीको राजविराजमा चुनावी भिडन्त कडा हुने देखिएको छ ।
राजविराज नगरपालिकामा राजपाबाट शम्भु यादव, कांग्रेसबाट ध्रुव देव, एमालेबाट सुखराम यादव, माओवादी केन्द्रबाट अनिश अन्सारी, संघिय समाजवादी फोरमबाट भिमराज यादव र लोकतान्त्रिक फोरमबाट शैलेस चौधरी मेयरका उम्मेदवार बनेका छन् ।
उप मेयरमा राजपाबाट साधना झा, कांग्रेसबाट सुशीला यादव, एमालेबाट ममता चौधरी, माओवादीबाट सरिता यादव र समाजबादी फोरमबाट किरण झा उम्मेदवार बनेका छन् ।
त्यहाँका स्थानीय वासिन्दाका अनुसार राजपा नेपाल र संघीय समाजवादी फोरम एक आपसमा प्रतिस्पर्धामा छन् । दुई मधेसवादी दलसँगै माओवादी केन्द्र र नेपाली कांग्रेस पनि चुनावी भिडन्तमा बलियो देखिन्छन् ।
तर मुख्य प्रतिस्पर्धा चाहिँ संघीय समाजवादी फोरम र राजपाका बीचमै हुने स्थानीयहरु बताउँछन् ।
राजपाका महासचिव मनिष सुमनले राजापा सप्तरीमा पहिलो पार्टी बन्ने बताए । उनले मधेस आन्दोलनको नेतृत्व राजपाले गरेकोले राजपा नै सप्तरीमा पहिलो शक्ति बन्ने बताउँछन् ।
राजपाका राजविराज नगरपालिकामा उप मेयरका उम्मेदवार साधना झाले राजपाले जितिरहेको ठाउँमा अरु दलले जित्न नसक्ने बताइन् । मधेस आन्दोलनको अगुवाई गरेको गरेको कारणले पनि राजपाले नै चुनाव जित्ने उनले बताइन् । राजपाले चुनाव जितेमा नगरका समस्याहरु पनि समाधान गर्ने उनले बताइन् ।
स्थानीय शिक्षक दिनेश साहले चाहिँ फोरम नेपाल, राजपा र माओवादीका बीचमा प्रतिस्पर्धा हुने बताउँछन् । फोरमले तीन महिना अघि नै उम्मेदवार टुंगो लगाएर मैदानमा उतारेको भएपनि राजपाले अन्तिम समयमा आएर बल्ल उम्मेदवार टुंगाएको उनले बताए । राजपाप्रति जनताको सहानुभूति भएपनि फोरमले चुनाव जित्ने उनको आंकलन छ ।
राजविराज ६ का ३५ वर्षीय सैसव मिश्रले राजपा र फोरमबीच नै प्रतिस्पर्धा हुने बताए । विगतमा पनि राजपातर्फ जनता आकर्षित भएको उनले सुनाए ।
राजविराज १ का ५५ वर्षीय मोहम्मत जफ्तारले फोरम नै चुनावी प्रतिस्पर्धामा अगाडि रहेको बताउँछन् । फोरमका नेताहरुले धेरै पहिलेदेखि नै भोट मागिरहेको उनले बताए ।
राजविराजकी ५० वर्षीय विरेन्द्र झाले फोरम र कांग्रेसका विचमा प्रतिस्पर्धा हुने बताए । तर जित्ने सम्भावना चाहिँ फोरमको रहेको उनले सुनाए । आर्थिक रुपमा फोरमका उम्मेदवार बलियो रहेको उनले बताए ।
अहिलेको राजविराजमा पहिलो संविधानसभाको निर्वाचनमा सद्भावनबाट महेश यादवले चुनाव जितेका थिए भने तमलोपाका अनीस अन्सारी निकटतम प्रतिद्वन्दी बनेका थिए ।
२०७० को चुनावमा माओवादीका उमेश यादव निर्वाचित भएका थिए । संघीय समाजवादीका उम्मेदवार निकटतम प्रतिस्पर्धी बनेका थिए ।
कांग्रेस पछिल्ला दुई चुनावमा सो ठाउँमा तेस्रो बनेको थियो ।
एमालेको मेची महाकाली अभियानको क्रममा गोली चलेको मलेस भन्ने ठाउँमा चाहिँ राजपा बलियो देखिन्छ । त्यहाँका स्थानीयले एमालेका कारणले आफ्ना छरछिमेकीको ज्यान गएको आरोप समेत लगाए ।
मलेसमा प्रहरीको गोली लागेर पाँच जनाको ज्यान गएको थियो । मलेशका शुखदेव यादवले राजपा बलियो शक्ति भएको र आफूले पनि मधेसी दललाई नै भोट दिने बताए । सोही ठाउँका केदारनाथ यादवले पनि मधेसको सुख दुखमा एमालेले साथ दिएको बताउँछन् ।
मेलसका ६५ वर्षीय कैलु शाहले मधेसी पार्टी भनेको राजपा भएकोले राजपालाई नै भोट दिने बताए । फोरम पनि मधेसी पार्टीनै थियो, तर अहिले चाहिँ फोरम मधेसी पार्टी होइन भन्ने उनको धारणा छ ।
मलेसका स्थानीयले केही दिन अघिसम्म एमालेलाई गाउँ पस्न नदिने बताएका थिए । तर अहिले एमालेले पनि सो ठाउँमा चुनावी प्रचार गरिरहेको छ । तर मधेसवादी दलको तुलनामा कांग्रेस, एमालेको चुनावी प्रचार कमजोर देखिन्छ ।