
नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो हटाउने भन्दै रास्वपा कार्यकर्ताहरू चुनावी चिह्नसहितको ज्याकेट लगाएर पुगेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ ।
विपद्का घटनाहरूमा प्रशासन आफैंले काम गरिरहेको भन्दै कुनै दल विशेषले आफ्नो पहिचानसहित गएर तस्वीर लिने र सामाजिक सञ्जालमा राख्ने काम गरेकोमा सूचनामार्फत आपत्ति जनाइएको हो ।
रास्वपा सभापति रवि लामिछानेले आफू दोस्रोपटक सांसद निर्वाचित भएको १०० दिन पुगेको अवसरमा घोषणा गरेको र्यापिड रेस्पोन्स टीम (RTT)का सदस्यहरू सुन्तला रंगको ज्याकेट लगाएर कालीखोला पुगेको तस्वीर सामाजिक सञ्जालमा आएको थियो ।
घण्टी चिह्नसमेत समावेश उक्त ज्याकेट लगाएका युवाले वाकीटकी बोकेको तस्वीरमा देख्न सकिन्छ ।
'हिजो मुग्लिन-नारायणगढ खण्डको कालीखोला भन्ने स्थानमा माथिबाट लेदोसहितको पहिरो आई बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडकसहितका राज्यका अंगबाट भएको स्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाइ सडक सुचारु गराई ट्राफिक व्यवस्थापन समेत गरेकोमा कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,' चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधवार जारी गरेको सूचना भनिएको छ ।
ठूला विपद्का घटनामा आफ्नो परिचयविना विशुद्ध स्वयंसेवी बनी सघाउन सकिने भए पनि कुनै दल विशेषको सहयोग आवश्यक नरहेको सूचनामा उल्लेख छ ।
'ठूला विपदका घटनाहरूमा राजनीतिक दल, नागरिक समाजलगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचयविना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रूपमा जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने व्यहोरा समेत सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ,' अगाडि भनिएको छ ।
साथै तस्वीरमा देखिएका युवाहरूले बोकेको वाकीटकी अनुमतिसहितको हो कि हैन भन्ने विषयमा समेत छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको सूचनामार्फत जनाइएको छ ।
मंगलवार कालीखोलामा गएको पहिरो स्थलमा रास्वपा कार्यकर्ता वाकीटकी बोकेर पुगेको तस्वीर मुग्लिन बजारलगायतका फेसबूक पेजबाट सार्वजनिक भएको थियो ।
सडकको पहिरो हटाउन स्काभेटरलगायत उपकरणहरू र दक्ष जनशक्ति खटिन गरेका छन् । हातैले ढुंगा टिपेर फाल्नेजस्तो स्थिति नहुने हुनाले यस्तो काममा बाहिरी व्यक्तिको खासै भूमिका हुँदैन ।
बरु अनावश्यक भीडभाड हुँदा काममा व्यवधान हुने गरेको सडकमा पहिरो हटाउने काम गर्दै आएका प्राविधिक तथा सुरक्षाकर्मीहरू बताउँछन् ।
यसअघि रवि स्वयं पहिरो स्थलमा दौडिएको भिडियो सार्वजनिक हुँदा चौतर्फी आलोचना भएको थियो ।
हेर्नुहोस्, विज्ञप्ति :
