
राजधानी खार्तुमको उत्तरमा अवस्थित ओमदुरमान शहरमा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा ६ जना सुडानी गुप्तचर अधिकारीको मृत्यु भएको छ ।
ओमदुरमानमा सुडानी सेना र आरएसएफबीच भएको झडपमा ६ जना उत्कृष्ट गुप्तचर अधिकारीले ज्यान गुमाएका रक्षा मन्त्रालयले जनाएको छ ।
बुधवार पनि शहरमा हिंसात्मक झडप जारी रहेका प्रत्यक्षदर्शीले बताएका छन् । मंगलवार दुवै पक्षले धेरै जना विपक्षीलाई मारेको तथा घाइते बनाएको दाबी गरिएको थिए ।
यसैबीच, सुडान डाक्टर सिन्डिकेटले बुधवार एक विज्ञप्ति जारी गर्दै ओमदुरमान र करारी क्षेत्रमा व्यापक बमबारी भएको र धेरैले ज्यान गुमाएका र अन्य कैयौ घाइते भएका जनाएको छ ।
अल–थवरा क्षेत्रको अलनाव अस्पताललाई शल्यक्रियाकर्मी र आपतकालीन आपूर्तिका सामग्रीका साथै सबै समूहको रगतको आवश्यकता परेको बताएको छ ।
सुडानी स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार गत अप्रिल १५ देखि राजधानी खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीचको संघर्षमा ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् ।