
महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा बिहीवार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीपले ठक्कर दिँदा २ पैदल यात्रुको मृत्यु भएको हो ।
बिहीवार राति बीपी राजमार्गअन्तर्गत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र०१–०२६च ५६४३ नम्बरको जीपले बर्दिबास–३ गुञ्ज होटल अगाडि बाटो काट्दै गरेका बर्दिबास–३ गौरीबासका ७२ वर्षीय रामबाबु मोक्तानलाई ठक्कर दिएको थियो । उनको जनसेवा अस्पताल बर्दिबासमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दिबास–४ स्थित भब्सीपुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७१५३ नम्बरको जीपले बाटो काट्दै गरेका पैदलयात्री महोत्तरी गाउँपालिका–६ गोनरपुराका ५९ वर्षीय जगदीश साहलाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनको बर्दिबास सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।