सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवाहरूलाई श्रमसँग जोड्न लागिपरेको बताएका छन् ।
मातृभूमि फाउन्डेसन नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा ‘युवाका लागि हरित सीपः विश्व दिगो विकासतर्फ’ नाराका साथ आज आयोजित अन्तक्रियामा उनले मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने दिशातर्फ सरकार अगाडि बढिरहेको धारणा राखे ।
मन्त्री मोदीले सङ्घीयतामा महिला, छिडिएका क्षेत्रका जनता र अपाङ्गता भएका व्यक्तिले राज्यमा अधिकार प्राप्त गरेको विचार राखे । उनले मुलुकमा समानुपातिक समावेशीका कारण वर्तमान अवस्थामा जनताका छोरा एवं छोरी राष्ट्रपति भएको उदाहरण प्रस्तुत गरे ।
मन्त्री मोदीले वातावरण प्रदूषण न्यूनीकरणका लागि युवाले प्रविधिको प्रयोग गरी समाजलाई डोर्याउन आग्रहसमेत गरे । उनले समाजप्रति उत्तरदायी भएर अगाडि बढ्न युवाहरूलाई आग्रह गर्दै हाम्रो संस्कृति, नैतिक शिक्षालाई अँगाल्न आवश्यक भएको बताए ।