
आज (आइतवार) सुदूरपश्चिम र कर्णालीका सात जिल्ला आसपास भई बहने नदी तथा खोलामा बहाब बढ्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै ईलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, बाग्लुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पुर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी आसपास भई बहने नदीमा समेत बहाब बढ्ने सम्भावना छ । यी जिल्ला नदी तटीय क्षेत्रमा समेम सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसका अलावा आज मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।
आज कोशी, कन्काई, कमला, पूर्वी राप्ती र यसका सहायक नदीमा जलसतह सतर्कता तह रहे पनि बहाब उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
बागमती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भोलि (सोमवार) कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले आज आइतवार देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आइतवार दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको १–२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साउन २८
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 13, 2023
आज बग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ ।
साथै नक्सामा उल्लेखित जिल्लाहरुमा आकस्मिक बहावको जोखिम रहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ pic.twitter.com/H3qroo8X1x