१५ असार २०८३, सोमबार

जलाउँदै गरेको शव बाढीले बगायो, मलामीको भागाभाग

साउन २८, २०८०
विराटनगर
जलाउँदै गरेको शव बाढीले बगायो, मलामीको भागाभाग

मोरङमा जलाउँदै गरेको शव खोलाले बगाएको छ । बेलबारी नगरपालिका–३ का मेघराज कोइरालाकी आमा लीला माया कोइरालाको शव अन्तिम दाहसंस्कार गर्दै गर्दा खोलामा आएको बाढीले बगाएको हो ।

शनिवार दिउँसो ३ बजेतिर लोहान्द्रा खोलामा जलाउँदै गरेको शव बाढीले बगाएको कोइरालाका छिमेकीसमेत रहेका बेलबारी जेसिजका अध्यक्ष विपिन आचार्यले बताए । दागबत्ती दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएपछि मलामीको समेत भागाभाग भएको थियो ।

उनका अनुसार खोलाले बगाएको शव पुनः खोजेर गाँडिएको थियो । प्रहरी र स्थानीयले शव खोजेर आफन्तलाई जिम्मा लगाएका थिए । त्यसपछि पुनः उनको अन्तिम संस्कार गरिएको हो । ‘लोहान्द्रा खोलामा शवमा आगो मात्रै लगाएका थियौं । आगो लगाएको १५ मिनेट मै बाढीले बगाइहाल्यो,' उनले भने, 'शव खोज्दै जाँदा सुन्दरहरैचास्थित कुमार गाउँको छेउमा भेटियो । शवलाई ल्याएर राति जंगलमा खाल्डो खनेर पुरेका छौं  ।’ 

जल्दै गरेको शव बगाएपछि स्थानीयले भने बेलबारी नगरपालिकाप्रति आक्रोश पोखेका छन् । घाट नबनाएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् । बेलबारी नगरपालिकाले अहिलेसम्म कतै पनि घाटको बनाएको छैन । घाट नबनाएको नगरपालिकाले बेलबारी–२ मा भने भ्युटावर बनाइरहेको छ । 

जलाउँदै गरेको शव खोलाले बगाएपछि मेयर दिलप्रसाद  राई (डीपी)ले घाट बनाउन बजेटको व्यवस्था गरेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्,  ‘बेलबारी नगरपालिका वडा नं ३ निवासी मेघराज कोइरालाज्यूकी ममतामयी माताको अन्तिम संस्कार गरिरहँदा बाढीले बगाएको अत्यन्त दुखद् खबरले मर्माहत बनायो । यही घाट व्यवस्थित गर्न यो आवमा ७० लाख बजेट परेको छ । सबैको सहभागितामा योजना सफल गरेर फेरि यस्तो घटना रोकौँ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना ।’ 

salt training

कमेन्ट गर्नुहोस्