
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न माग गरेका छन् ।
मंगलवार संसदीय दलको बैठकमा थापाले कांग्रेसले माओवादीसँग मिलेर सरकार बनाएको भन्दै कांग्रेसमाथि पनि प्रश्न आउन सक्ने भएकोले महरामाथि छानबिन गर्नुपर्ने बताएका हुन् ।
महरामाथि धेरै नै प्रश्न उठेकोले उनले सत्तारूढ दल वा सरकारको नेतृत्व गरेको पार्टीको भएकै आधारमा उन्मुक्ति पाउन नहुने बताएका हुन् ।
‘महरामाथि धेरै नै प्रश्न उठेको छ । सीआइबीले समेत प्रतिवेदनमा उल्लेख गरिसकेकोले सामान्य सोधपुछले चल्दैन, 'थापाको भनाइ उद्धृत गर्दै एक सांसदले भने, 'यसको प्रभावकारी छानबिन गर्नुपर्छ ।'
गत पुसमा त्रिभुवन विमानस्थलबाट भित्रिएको भेप सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा समेत मुछिएका छन् ।